राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना पक्राउ

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना पक्राउ



काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रदर्शन गर्दै नाराबाजी समेत गरेका थिए ।

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले ९ महिनापछि सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।