चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी



काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रममा बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको केसीको भनाइ छ ।

उनले नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाए पनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए ।

‘अर्थ मन्त्रालयबाट हामीले पठाएको मागभन्दा ठिक उल्टो गरी आएको छ,’ केसीले भने, ‘प्रधानमन्त्रीज्यू भारत भ्रमणबाट आउनेबित्तिकै यसबारेमा कुरा गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आश्वासन दिनुभएको छ ।’

बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि केसीले असन्तुष्टि जनाए ।