प्रधानमन्त्रीलाई रोष्ट्रममै रोकेर प्रतिपक्षीको नाराबाजी

प्रधानमन्त्रीलाई रोष्ट्रममै रोकेर प्रतिपक्षीको नाराबाजी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने क्रममा प्रतिपक्ष दलका सांसदले नाराबाजी गरेका छन् । संसदमा प्रधानमन्त्रीले बोल्दाबोल्दै अवरोध भएपछि तनावको अवस्था सिर्जना भएको हाे । प्रधानमन्त्रीले नागरिकता विधेयकबारे सदनमा उठेका प्रश्नको जवाफ दिँदादिँदै एमालेले अवरोध गरेपछि विवाद भएको छ ।

प्रधानमन्त्रीले जवाफ दिँदादिँदै प्रतिपक्षीले अवरोध गरेर नियमावली उलंघन गरेको सत्तापक्षको दाबी छ । एमालेले प्रधानमन्त्रीलाई बिचमै रोक्ने र सत्तापक्षले पनि डिस्टर्ब गर्ने परिस्थिति बन्दा संसदमा दोहोरीको अवस्था सिर्जना भएको हो ।

संसद्को नियमावलीअनुसार प्रधानमन्त्रीलाई ‘स्पष्टीकरण’ सोधिसकेपछि पुनः प्रश्न गर्न पाइँदैन ।

प्रधानमन्त्रीले ‘संसद्ले दुईपटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाइएको विधेयक यो संसद्मा विचाराधीन होइन’ भन्ने तर्क गर्दा नेकपा (एमाले)का सांसदहरूले होहल्ला गरेका थिए ।

सभामुख देवराज घिमिरेले पटक–पटक प्रधानमन्त्रीलाई कुरा राख्न दिन अग्रह गर्दा समेत एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले प्रधानमन्त्रीलाई बोल्न नदिने गरी आवाज उठाइरहेका छन् । त्यति बेल प्रधानमन्त्री प्रचण्ड रोष्ट्रममै उभिइरहेका थिए ।