वामदेवको सदस्यता एमालेमै छ : ओली

वामदेवको सदस्यता एमालेमै छ : ओली



काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा फर्किन तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले आफू एमालेमा फर्किन तयार रहेको बताएका हुन् । 

बुधबार अपरान्ह संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिए । 

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै भएको बताएका छन् ।

ओलीले भने, ‘उहाँले सदस्यता ती छ भन्नुभयो होइन ? अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नु भएको छ, त्यो ठीक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’ ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठीक भएको पनि बताए ।

२०७८ भदौमा एमालेबाट अलग भएका गौतम पार्टीमा फर्किने ७० वर्षे उमेरहद हटाउनुपर्ने बताउँदै आएका थिए । शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाइसकेको छ । उनले ७० वर्षे उमेरहद हटाए आफ्नै घर भएकाले एमालेमै फर्किने बताइसकेका छन् ।