यथास्थितिमा बजेट पास हुन दिँदैनौं : माधव नेपाल

यथास्थितिमा बजेट पास हुन दिँदैनौं : माधव नेपाल



काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।

उनले भने, ‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’

भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले बजेट पक्षपातपूर्ण भएको बताए । सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए । ‘अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन,’ उनले भने ।

राजनीति विकृत हुनुको कारण भ्रष्टाचारले काम गरेको बताउँदै उनले नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको पनि बताए । ‘विना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ,’ उनले भने ।