इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै



काठमाडौं । लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि कार्यान्वयको तयारी अघि बढाइएको छ ।

यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्न आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ । २१ चैतको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बरप्लेट देवनागरी लिपिमा राख्ने निर्णय गरेको थियो । केही वर्ष पहिलेदेखि नै इम्बोस्ड नम्बरप्लेट नेपालीमा हुनुपर्ने माग भाषाविद्, सांसदलगायत सबै पक्षबाट हुँदै आएको थियो ।

देशभरका सवारीसाधनलाई कति नेपाली, कति अङ्ग्रेजी र कति मिश्रित भाषामा नम्बरप्लेट चाहिन्छ भनी तथ्याङ्क सङ्कलन भइरहेको विभागले जनाएको छ । कुन प्रकारका सवारीसाधन कति छन् र सेवाग्राही कुन भाषा चाहन्छन् भन्ने बुझेपछि जडानले गति लिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए ।

दुईपाङ्ग्रे, चारपाङ्ग्रे हलुका र चारपाङ्ग्रे हेभी गरी तीन किसिमका सवारीसाधन रहेका छन् । यीनलाई फरक आकारका नम्बरप्लेट आवश्यक हुने प्रवक्ता पनेरु बताउँछन् । कस्तो सवारीसाधनका लागि कति सङ्ख्यामा नम्बरप्लेट चाहिने भनी यकिन गरिने उनले बताए ।

सरकारले नेपाली भाषामा छाप्ने निर्णय गरेपछि कसरी गर्न सकिन्छ भनी छुट्याउने काम भइरहेको प्रवक्ता पनेरु बताउँछन् । तथ्याङ्क आइसकेपछि आपूर्तिकर्ता कम्पनीलाई यस्ता खालका नम्बरप्लेट यतियति आवश्यक पर्छ भन्न सकिने उनको भनाइ छ ।

देशभरका सवारीसाधन दर्ताको तथ्याङ्क विभागसँग नभएकाले अहिले प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयबाट सङ्कलन भइरहेको छ । कुन प्लेट कति चाहिन्छ भनी अनुमानको भरमा छाप्न नमिल्ने हुँदा पहिले यकिन तथ्याङ्क विवरण खोजिएको उनको भनाइ छ ।

जम्मा २५ लाख नम्बर प्लेछ छापिने र त्यसमा कतिले अङ्ग्रेजीमा छाप्ने कतिले नेपाली र कति मिश्रित भनेर पहिले बुझेर मात्रै छाप्नुपर्ने पनेरु बताउँछन् । ‘निर्णय हुँदा समग्र रूपमा भए पनि कुन तरिकाबाट गर्ने भनी योजना बनाउन केही समय लाग्नेछ,’ उनले भने ।

पहिले सवारीको प्रकार पत्ता लगाएपछि कुन भाषमा कति छाप्ने भनी तथ्याङ्क सङ्कलन हुने विभागले जनाएको छ । मन्त्रालयले एकै प्रकारको (नेपाली, अङ्ग्रेजी वा मिश्रित) भनी निर्णय गरेमा त्यही आधारमा गरिने र नभए कति सेवाग्राहीले कुन भाषामा छाप्ने छानेपछि सोही आधारमा गरिने उनले जानकारी दिए । एकै थरी गर्ने हुँदा त्यही अनुरुप काम गर्न सकिने भए पनि विकल्प हुँदा कसले कुनमा छाने भनी बुझ्न समय लाग्ने उनले बताए ।