अखण्ड भारतको नक्साबारे कूटनीतिक नोट पठाएर विरोध गर्नुपर्छ : महासेठ

अखण्ड भारतको नक्साबारे कूटनीतिक नोट पठाएर विरोध गर्नुपर्छ : महासेठ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव रघुवीर महासेठले भारतलाई कूटनीतिक नोट पठाएर ‘अखण्ड भारत’ नक्साको विरोध गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका सांसद महासेठले सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने सुझाव दिएका हुन् ।

महासेठले भारत कहिल्यै अखण्ड नरहेको भन्दै नेपाली भूमिलाई समेटेर भारतको संसद् भवनमा अखण्ड भारत भनेर नक्सा राख्नु ठिक नभएको बताए ।

उनले भने, ”अखण्ड भारतअन्तर्गत जुन लुम्बिनी र कपिलवस्तु राखियो, त्यो गलत छ । सरकारले यसको विरोध गर्नुपर्छ । कूटनीतिक नोटबाट यसको विरोध गर्नुपर्छ, भारतमा कहिले पनि अखण्ड भारत थिएन । ब्रिटिस इन्डिया कम्पनी थियो ।’

अखण्ड भारत भन्ने देशै नभएको महासेठको भनाइ थियो । ‘अखण्ड भारत भन्ने देश थिएन तर आज लुम्बिनी र कपिलवस्तुलाई राखिएको छ । नेपाल सरकारले यसको विरोध गर्न सक्नुपर्छ,’ उनले भने ।