दुई जनालाई मन्त्री बनाएर पार्टी बन्दैन : झलनाथ खनाल

दुई जनालाई मन्त्री बनाएर पार्टी बन्दैन : झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीबाट दुई जनालाई मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले वैचारिक, सैद्धान्तिक दिशाहरूलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गरेर अन्तरविरोधको सही पहिचान गर्दै ‘प्रधान शत्रु’को सही पहिचान गर्नुपर्ने बताए ।

“दुईजना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन । दुईजना मन्त्री बनायौँ । कार्यनीतिका रूपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकताबद्ध गर्ने हो,” उनले भने ।

उनले नेकपा एकीकृत समाजवादीको महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको बताए । अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा ठूलो असन्तुष्टि रहेको उनको दाबी छ ।

“हामीले पहिलो महाधिवेशन पनि गरेका छैनौँ नि पार्टीको । पार्टी बनाउँदै लैजाने, त्यसैले अहिले पनि यो निमित्त पार्टी हो । महाधिवेशनमार्फत निर्वाचित पार्टी बनाइसकेका छैनौँ । महाधिवेशनमार्फत जब निर्वाचित संस्था बनाउँछौँ । हाम्रा विचार पनि त्यही अनुसार संस्थागत हुन्छन् । हामी पार्टी निर्माणको चरणमा छौँ,” खनालले भने ।