राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन : सांसद पन्त

राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन : सांसद पन्त



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० को उपराष्ट्रपतिको कार्यालयसम्बन्धी बजेटबारे छलफलमा भाग लिँदै सांसद पन्तले हुँदै नभएका दरबन्दी खडा गरेर अनावश्यक बजेट छुट्याउनु लोकतन्त्रको हितमा नहुने बताए ।

खास खास अवस्थामा संवैधानिक दायित्व पूरा गर्न राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले भने, ‘उपराष्ट्रपतिले विदेश मामिलामा सल्लाह दिने सल्लाहकार राख्नु भएको छ रे । उहाँलाई के आवश्यकता आइलाग्यो सल्लाहकार राख्नलाई, राष्ट्रपतिलाई पनि चाहिदैन । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री हो । मन्त्रिपरिषद हो । नेपाल सरकार हो । राष्ट्रपति चल्ने भनेको प्रधानमन्त्रीको सल्लाहबाट हो । त्यसैले राष्ट्रपतिले गरेका निर्णयहरूको आलोचना हुँदा सबैभन्दा बढि सरकारको गरिन्छ ।’

उनले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकार हरूलाई बजेट दिनु जनताले तिरेको करको दुरूपयोग भएको बताएका छन् ।

उनले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको भन्दै आपत्ती जनाए । सांसद पन्तले उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष एउटै व्यक्ति बनाउनुपर्ने बताए ।