कांग्रेस छियाछिया हुन थाल्यो : शशांक कोइराला

कांग्रेस छियाछिया हुन थाल्यो : शशांक कोइराला



काठमाडौं । कांग्रेस नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस छियाछिया हुन लागेकोले कसरी पुनर्जीवन दिने भन्नेबारे सोच्नुपर्ने बेला आएको बताएका छन् ।

कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको काठमाडौं शाखाको नवौं अधिवेशन कार्यक्रममा आइतबार डा. कोइरालाले पार्टी जोगाउन सुभेच्छुक संस्थाहरूले भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो ? जाडोको याममा पात झरेको देखिएको छ, पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडो यामलाई छलेर जब बसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ, त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’

कोइरालाले कांग्रेस अहिलेको अवस्थामा संवेदनशील भएर अगाडि बढ्नुपर्ने भन्दै संविधानमाथि पनि प्रहार हुन लागेको दाबी गर्दै सचेत हुन आग्रह गरेका थिए । ‘अहिले संविधानमाथि प्रहार हुन् थालेको छ । हामीले ७० वर्ष लगाएर बनाएको संविधान यसै मास्ने कुरा गर्न मिल्दैन । यसकालागि कांग्रेसको भूमिका हुनुपर्छ । आउँदो भविष्यमा हामी कसरी जाने ? लेखेर मात्र हुँदैन । संविधान जोगाउनुपर्नेछ,’ उनले भने ।