प्रतिनिधिसभामा रास्वपा र एमालेको अवरोध

प्रतिनिधिसभामा रास्वपा र एमालेको अवरोध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै प्रतिनिधिसभामा अवरोध गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर अवरोध गर्ने बताए ।

उनले प्रमुख जिल्ला अधिकारीको मतहतमा जिल्ला निर्वाचन कार्यालय ल्याउन नहुने उल्लेख गरे । “लोकतन्त्र बलियो बनाउनबाट सरकार मनोमौजी गर्दै छ । बजेटको नाममा सरकारले लोकतन्त्रमा हमला गरिरहेको छ । यसलाई शून्य र विशेष समयमा यो विषय उठाउँदा सुनेन सरकारले सुनेन,” उनले भने, “लोकतन्त्रमा निर्वाचन आवश्यक छ । जुन निर्णय सरकारले गरेको छ, त्यो फिर्ता लिओस् । नभए सदनको कारबाही अघि बढ्दैन ।”

रास्वपाका सभापति रवि लामिछानेले त्यसो गरिँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास कसरी हुन्छ भन्दै प्रश्न गरे । संवैधानिक आयोगको क्षेत्राधिकारलाई मिचेर सीडीओ कार्यालयमा ल्याउँदा के हुन्छ निष्पक्षता, संसारले हेर्ने विषय भएको उनले उल्लेख गरे ।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको र त्यसक्रममा जवाफ आउने बताए । तर, त्यसलाई नमानि रास्वपा र एमाले सांसदहरुले संसदमा उठेर अवरोध गरिरहे ।

त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि सदन स्थगित भएको घोषणा गरे ।