काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाहमात्रै भएको बताएकी छन् ।
मङ्गलवार मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै अफवाहमात्रै फैलाएकाे बताइन् । उनले वर्तमान सरकार देशमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी गरिन् ।
उनले भनिन्, ‘सरकार ढल्ने हल्ला मैले सुनेको छैन । सरकार ढल्नुपर्ने कारण केही छैन । सरकार राम्रोसँग चलिरहेको छ । सरकारले सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ । यस्तो बेलामा हल्ला चलेको छ भन्नु अफवाह हो ।’
मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको बताइन् । उनले सरकारले अनुसन्धान कुन तहसम्म पुर्याउनेभन्दा पनि अनुसन्धानले जहाँ पुर्याउँछ त्यहाँसम्म पुग्ने बताइन् । यस प्रकरणमा अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाहीको दायरामा सरकारले ल्याउने उनकाे भनाइ छ ।


प्रतिक्रिया