प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालिसके : प्रधानमन्त्री

प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालिसके : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन् । साथै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने बताए ।

प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको उनले बताए ।

हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनले बताए ।

प्रचण्डले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’

यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ ।’

वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने उनले बताए ।

त्यसैगरी, प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा रिपोर्ट कार्ड प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगसहितका शिर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले रिपोर्ट कार्ड प्रस्तुत गरेका हुन् ।

छ महिनाअघि प्रधानमन्त्री बन्दा रिपोर्ट कार्ड प्रस्तुत गर्ने भनेको स्मरण गर्दै उनले बाचाअनुसार सांसदहरुले उठाएका प्रश्नकोे समीक्षात्मक जवाफ दिने बताए । “म प्रधानमन्त्री बन्दै गर्दा आर्थिक संकटले एउटा भाष्य निर्माण भएको थियो, देश श्रीलंकाको बाटोमा जाँदै छ । त्यो आशंका बौद्धिक क्षेत्रमा मात्र होइन, सर्वसाधारणसम्म त्रास फैलिएको थियो । अहिले त्यो अवस्थामा सुधार आएको छ,” प्रचण्डले भने, “यसलाई म सरकारको उपलब्धी भनेर खुम्च्याउँन चाहन्न । यो देशकै उपलब्धी हो ।” उनले अहिले सबैजसो आर्थिक परिसूचक सकारात्मक दिशातर्फ खघि बढेको बताए ।

“विगत छ महिनामा कुल विदेशी विनिमय संचिती २०.९ प्रतिशत बृद्धि भएको छ । अब हामी नौ महिनाका लागि बस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षीत अवस्थामा छौँ,” प्रचण्डले भने, “यसैगरी कुल बस्तु व्यापारघाटामा १५.२ प्रतिशतले कमी आएको छ । विप्रेषण उल्लेख्य बढेको छ ।”

प्रचण्डले मुलुकको अर्थतन्त्र जागेको बताएका छन् । उनले प्रधानमन्त्री बन्दैगर्दा अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको भन्ने चिन्ताबीच अब अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका हुन् ।