सरकारमाथिको विश्वास ९९.९९ प्रतिशतबाट ५३ मा झर्‍यो : ओली

सरकारमाथिको विश्वास ९९.९९ प्रतिशतबाट ५३ मा झर्‍यो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विश्वास ५३ प्रतिशतमा झरेको बताएका छन् । बजेट पारित भएपछि संसद्बाट बाहिरिने क्रममा ओलीले नतिजा थाहा हुँदै पनि प्रक्रियामा गएको बताए ।

“बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौँ,” उनले भने, “सरकारप्रति ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्‍यो ।”

प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधयकमाथि मत विभाजन मागेपछि मतदान भएको थियो । पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो । संसदले पहिलो पटक मत विभाजनमार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजन माग गरेका थिए । उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गरेका थिए ।

यसअघि नै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्वीप जारी गरेका थिए ।