विचारबिनाका पार्टीको लहर चलेको छ : ओली

विचारबिनाका पार्टीको लहर चलेको छ : ओली



काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताएका छन् । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन् ।

उनले भने, ‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ, विचार नचाहिने, बिनाविचारकाे विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ ।’

राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको उनको भनाइ छ । आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएकोमा उनले गुनासो गरे ।

उनले भने, ‘ बिनाइतिहास समाज यहाँ आएको छैन । धेरै उत्तारचढावबाट समाज यहाँसम्म आइपुगेको हो ।आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सी बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ ।’

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने पनि बताए ।