भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्न सक्छ : देउवा

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्न सक्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्न सक्ने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा सरकारलाई नै फाइदा हुने पनि बताए । आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन सबै मिलेर लाग्नुपर्ने उनकाे भनाइ छ ।

उनले भने, ‘आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा सरकारलाई नै फाइदा हुने हो । पर्यटनको मुख्य आधार पनि यही बन्न सक्दछ । हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता विभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन । यसका लागि हामी सबै लाग्नुपर्छ ।’

देउवाले आदिवासी जनतातिको सहभागिता बढ्दा कांग्रेस झनै बलियो र प्रभावशाली बन्ने दाबी गरे ।