काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूको बैठक आह्वान गरेका छन् । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक आह्वान गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । गठबन्धनभित्रको पछिल्लो अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा भएको छलफलबारे पनि आजको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।
साथै, कोशी प्रदेश सरकार गठनका विषयमा पनि केन्द्रमा नेताहरूबीच छलफल हुने बताइएको छ । नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेसँगै त्यहाँ नेतृत्व लिन दलहरूबीच हानथाप चलिरहेको छ ।
कोशीका नेताहरू पनि नेतृत्वको विवाद मिलाउन केन्द्रका नेताहरू गुहार्न थालेपछि गठबन्धन बैठकबाट निश्कर्ष निकाल्न लागिएको हो ।
प्रतिक्रिया