काठमाडौं । प्रतिपक्षी दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएकाे प्रतिनिधिसभाको बैठक २२ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुले संसद अवरोध गरेका थिए ।
बुधबार संसदको बैठक सुरु भए लगत्तै समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए । उनले अघि भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताए ।
अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको हो । बैठक स्थगितको सूचना जारी गर्ने तयारी भइरहेको संसद सचिवालयले जानकारी दिएकाे छ ।
प्रतिक्रिया