काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अर्थमन्त्रीले मात्र जिल्लामा बजेट लगेको आरोप लगाएका छन् ।
आजदेखि सानेपामा सुरु भएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै मोरङ जिल्ला सभापतिसमेत रहेका मन्त्री लिम्बूले आफूले भने मन्त्री भएर पनि जिल्लामा बजेट लैजान नसकेको बताए ।
“अर्थमन्त्रीले बजेट आफ्नो जिल्लामा लगे । समानुपातिक बजेट वितरण भएन,” मन्त्री लिम्बुले भने, “म मन्त्री त हुँ । तर, मैले मेरो जिल्लामा बजेट लैजान सकिनँ ।”
प्रतिनिधिसभा सदस्यसमेत रहेका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङले सरकार र पार्टीबीच समन्वय हुन नसकेको बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका संखुवासभा जिल्ला सभापति दीपक खड्काले पार्टीको रूपान्तरणबारे स्पष्ट पार्न माग गरे । भेलामा उनले सोधे, ‘अहिले रूपान्तरणको कुरा उठिरहेको छ । गुटको रूपान्तरण हो कि पार्टीकै ? यसमा कस-कसलाई समेट्ने हो ?’ उनले कांग्रेस सरकारमा भए पनि नागरिकले अनुभूति गर्न नसकेको समेत बताए । पार्टी सरकारमा भए पनि समन्वय हुन नसकेको उनको भनाइ छ ।
प्रतिक्रिया