काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्काे अवरोध हटाउने विषयमा समझदारी बनेकाे छ ।
प्रधानमन्त्री दाहालले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बाेधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको हाे ।
बैठकबाट बाहिरिने क्रममा अब सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘भरे देख्नुहुन्छ।’
एमालेका एक सांसदले भने, ‘प्रधानमन्त्रीले आफ्ना कुरा राखेर सदनको अवरोध हटाउने समझदारी भएको छ ।’ असार १८ गते दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीकाे राजीनामा मागेको थियो ।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री बैठकको सुरुमा बाेल्ने र संसद् सुचारु राख्ने विषयमा समझदारी बनेको जानकारी दिए ।
उनले भने, ‘आज तीन बजे बैठक बस्छ । प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ।’ प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।
प्रतिक्रिया