सरकारले तोक्याे धानको समर्थन मूल्य

सरकारले तोक्याे धानको समर्थन मूल्य



काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

जसअनुसार मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ ।

मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गत चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय पनि स्थापना गरेको थियो ।

यसैगरी, बैठकले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । हेलिकोप्टर दुर्घटना पाइलटसहित ६ जनाको मृत्यु भएको थियो ।