कांग्रेसमा प्रस्ताव : भदौ १५ भित्र तदर्थ समिति बनाउने, ६ महिनाभित्र अधिवेशन

कांग्रेसमा प्रस्ताव : भदौ १५ भित्र तदर्थ समिति बनाउने, ६ महिनाभित्र अधिवेशन



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखेका हुन् ।

म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि उनको प्रस्ताव छ ।

त्यसैगरी, कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरिएको छ । बैठकमा महामन्त्री गगन थापाले अहिलको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव पढेर सुनाएका हुन् ।

कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्ने उल्लेख छ । थापाले एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै अबका बैठक असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव गरे । वर्षमा न्यूनतम दुई बैठक काठमाडौंबाहिर गर्ने प्रस्ताव रहेको उनले बताए ।

कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।

उनले अगाडि भने, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।’

मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।