महामन्त्रीलाई सुरेन्द्रको कटाक्ष : देउवा डुबे तपाईं पनि डुब्नुहुन्छ

महामन्त्रीलाई सुरेन्द्रको कटाक्ष : देउवा डुबे तपाईं पनि डुब्नुहुन्छ



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् । केन्द्रीय समितिको तेस्रो दिन चलिरहेको बैठकको प्रारम्भमा बोल्ने क्रममा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको बोलीप्रति लक्षित गरेका हुन् । थापाले संसदीय दलको नेताको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

‘विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । सभापतिले पनि सक्नुहुन्न । कसैले पनि सक्दैन । त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो । त्यो गरौं,’ थापा लक्षित बोलीमा पाण्डेले भने, ‘त्यसमा आपत्ति छैन । पाइन्छ, गर्ने पनि हो सकिन्छ भने । गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं ।’

पार्टीका प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले माग गरेमा संसदीय दलको नेताका लागि चुनाव हुने व्यवस्था छ । विधानको व्यवस्था कार्यान्वयन गर्न सकिने तर बाहिर बोल्दै हिँड्न नहुने पाण्डेको तर्क छ ।

‘पार्टीको नेगेटिभ भ्रम फैलिने गरी अतिरञ्जित नगरौं । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं । यो डुंगालाई पार लाउन कठिन छ ।’

बैठकमा केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले डा. शेखरलाई वरिष्ठ नेता बनाउन माग गरेका छन् । “हाम्रो वरिष्ठ नेता राष्ट्रपति निर्वाचित हुनुभयो,” उनले भने, “डा. शेखर कोइरालालाई त्यसमा राखे पार्टीलाई बल पुग्छ । समझदारी सहकार्यको अवस्था हुन्छ कि भन्ने लाग्छ,” उनले भने ।

त्यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् ।

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाले आरोप लगाए । ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जाने? यस्ता नेतालाई कारबाही हुनुपर्दछ । भागेर अस्ट्रेलिया गएको रेकर्डेड छ ।’

झापा २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थेबे झापा जिल्ला सभापति समेत हुन् । थापा र थेबे दुबै नेता कृष्णप्रसाद सिटौला निकट छन् । बुढाथोकी संस्थापन पक्षका हुन् ।

कांग्रेसको नेतृत्वमा बनेको सरकार मान्ने कि नमान्ने प्रश्न बुढाथोकीले उठाएको भन्दै थापाले भने, ‘कार्यकर्ताको मनोबल घटाएको छ । शक्तिलाई खुम्च्याउने काम पार्टीभित्रैबाट भएको छ । कार्यकर्तालाई हप्काउने नेतृत्वले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?’

बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ । खाँणको निलम्बनको पक्षमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कुरा उठाएका छन् ।

‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ,’ शिवाकोटीले बैठकमा भने, ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्‍यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताएका छन् । ‘सरकार र साथी मध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने ।

यसअघि बुधबारको बैठकमा लक्ष्मी खतिवडा र राधा घलेले खाँणको पक्ष लिएका थिए । केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जनमानसमा कांग्रेस भ्रष्टाचार भन्नेबित्तिकै मुख थुन्छ, कानमा रुइ हाल्छ भन्ने भाष्य निर्माण भइरहेको बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले भ्रष्टाचारविरुद्ध अभियान चलाउन आवश्यक रहेको बताए । “सामाजिक सञ्जालमा कांग्रेस भ्रष्टाचार भन्नेबित्तिकै मुख थुन्छ, कानमा रुइ हाल्छ भन्ने छ, यो क्यालेन्डरमा सुशील कोइरालाका नाममा एक साता लामो भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्नु जरुरी छ,” उनले भने ।