कम्युनिष्ट शक्तिबीच एकताको खाँचो : माधव नेपाल

कम्युनिष्ट शक्तिबीच एकताको खाँचो : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने ‘वर्तमान परिस्थिति र आगामी कार्यभार’ सम्बन्धी प्रतिवेदनमा अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच एकताको खाँचो औँल्याइएको छ ।

प्रतिवेदनमा राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखा परेका विचलन, उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएको अवसरवादका विषय उल्लेख छन् । अध्यक्ष नेपालले आज प्रस्तुत गर्ने सो प्रतिवेदनमा सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषय समेटिएका छन ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि जारी बैठकमा अहिलेसम्म १४ नेताले धारणा राखिसकेका छन् । बैठकमा सहभागी नेताहरुले सङ्गठन सुदृढीकरण अभियानलगायत विषयमा राखेका सुझाव तथा प्रतिक्रियाको जवाफ अध्यक्ष नेपालले आज दिनेछन् ।