लहैलहैमा कांग्रेस

लहैलहैमा कांग्रेस



आजभोलि खुब बहादुरी गरियो भनेझैं कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चर्चा चलाइएको छ । कोही यस्तो बैठक राख्न बाध्य पार्न सफल भयौं भन्ठानिरहेका छन् त कोही यिनका भित्री कुरा एउटा बाहिर अर्को बोल्न नपाउन भनी ठान्नेहरु पनि सफल सम्झिरहेका छन् । यस्तो विधिले केन्द्रीय समितिको गरिमा र महिमालाई घटाउँछ कि बढाँंछ ? मलाई लाग्छ पटक्कै ध्यानविचार गरिएन । सिर्फ लहैलहै !

जुन बैठक राष्ट्रिय, अन्तरष्ट्रिय विषय भन्दा पनि आफ्नै बारेमा समीक्षा , विवेचना र छलफल गरिन्छ । त्यो बैठक सार्वजनिक गरेर कसलाई कहाँ कसरी फाईदा पुग्छ ? कि पार्टीको आन्तरिक विषयमा नपस्ने ? जब मिटिङ लाईभ हुन्छ, सदस्यहरुमा लोकमा प्रिय हुन चाहने उत्कण्ठा जाग्नाले मनका कुराहरुमा दवाव पर्छ र स्पष्ट कुरा निस्किन रोकिन्छ । बनावटी कुरामा अल्मलिएर बैठक अनिर्णित हुने खतरा पनि उत्ति नै रहन्छ । कुन्ताको जम्मो समिति त्यहीमाथि खुल्ला बैठक के मानोभाव भयो होला र हो नेता जी ?

केन्द्रीय सदस्य हुनु भनेको सर्वज्ञ त होइन नि ! यो प्राविधिक विषय बढी हो । महाधिवेशनमा पनि प्रतिनिधिहरुले गुटका लिष्टहरुमा नछुटाई मतदान गर्दा उम्किएर केन्द्रीय समितिमा पुगेका सदस्यहरु, गुटकै जामामा टांसिएर केन्द्रमा पुगेका सदस्यहरु लगायत ठूलो समिति अनि बैठक खुल्ला ?

भविष्यको आशा नभएपछि नेतृत्वले अधिनायकत्व लाद्न खोज्छ । बडो होसियारी पूर्वक विदाई गर्ने सोच राख्नुपर्छ । नत्र अघाएको नेतृत्वबाट अन्याय नै बढी हुने सम्भावना हुन्छ ।

हुन त समितिको संरचना नै भद्दा बनाउँदै लगिएको छ । कम्युनिष्टहरुले प्रयोग गरेको विधि हो यो । एकताका चार हजारको संख्यामा केन्द्रीय समिति बनाएका थिए उनीहरुले । छलफल नै हुन नसक्ने समिति बनाउनु भनेको अध्यक्षको मनोमानिले सहजै बढावा पाउनु हो । जनवादी केन्द्रीयतालाई आत्मासाथ गरेकाहरुको लागि यसले खासै असर पार्दैन । जीउभन्दा टाउकोको आकार ठूलो भयो भने त्यसले गति लिन सक्दैन । यो विज्ञानलाई बुझ्दाबुझ्दै पनि लहैलहैमा केन्द्रीय समिति भद्दा बनाइएको छ ।

पछिल्लो कालखण्डमा कांग्रेसभित्र पपुलिजम हाबी भयो । चुनावको त्रास र गठबन्धन सम्बन्ध साझेदारहरुका बन्धनमा कजिएर आफ्नो मौलिकतालाई मेटाउँदै लगेको कांग्रेसले कसको उच्छलसिंहमा लागेर लाइभ मिटिङ गरेर, आफ्नै आङ कन्याएर दुनियाँलाई छारो उडाइरहेको छ ।

फेरि अघाएको नेतृत्वसँग दूरी बढाएर थप विभेद र अन्याय गराउन तम्सिनेहरुको पनि कमी छैन यहाँ । शेरबहादुर देउवा अघाएको नेतृत्व हुन् । उनको राजनैतिक भविष्य छैन । वर्तमानलाई नै भरपुर उपयोग गरी गलगित्त हुन मन छ । भविष्यको आशा नभएपछि नेतृत्वले अधिनायकत्व लाद्न खोज्छ । बडो होसियारीपूर्वक विदाई गर्ने सोच राख्नुपर्छ । नत्र अघाएको नेतृत्वबाट अन्याय नै बढी हुने सम्भावना हुन्छ । यति हो यो नेतृत्वले न्याय दिन नसके पनि अन्याय चाहिँ नगरोस भन्ने हेतुबाट अगाडि बढ्नु पर्दछ ।

नेपाली माटोको गति यति र लयमा जन्मिहुर्की गरेको कांग्रेस पपुलिजमको हावामा बतासिँदा दिशाहिन र गतिहिन हुने खतरा बढिरहेको यो घडीमा आफ्नो पहिचानलाई निहालेर अगाडि बढ्नु पर्छ । लहैलहैमा लागेर आफ्नो पहिचान र अस्तित्वलाई संकटमा नपारौं ।