सभापति बदल्नुभन्दा पहिले म आफैँ बदलिनुपर्छ : धनराज गुरुङ

सभापति बदल्नुभन्दा पहिले म आफैँ बदलिनुपर्छ : धनराज गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति बदल्नेभन्दा पनि सुरुमा आफैँ बदलिनुपर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उपसभापति गुरुङले आफू बदलिएर कांग्रेस बदल्ने अभियानमा लाग्ने बताएका हुन् ।

‘जनताका बीचमा जनताको कांग्रेस बनाउने अभियानमा लागौँ । म आफैँ बदलिने प्रयास गरिरहेको छु । कतिले नेता बदल्ने कुरा गरेको भनेर गाली गर्छन्,’ उनले भने, ‘सभापतिलाई बदल्नुभन्दा पहिले म आफैँ बदलिनुपर्छ भन्ने राम्रैसँग थाहा छ । ७५-७६ वर्ष पुगेका सभापतिलाई बल्दिनुस् भन्दा पनि म आफैँ बदलिनुपर्छ । आफू बदलिएर समग्र कांग्रेस बदल्ने अभियानमा लाग्छु ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका गुरुङले उच्च तहका नेता र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् ।

मन्त्री गुरुङले देउवा सरकार गठन हुँदाको न्यूनतम साझा कार्यक्रममा नै ठूला भ्रष्टाचारका काण्डको छानबिन गर्ने भनेको भन्दै त्यसलाई अघि बढाउन नेपाली कांग्रेसको केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने बताए ।

“उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा, ठूला भ्रष्टाचारको छानबिन गर्ने कुरा अहिलेको होइन तपाईं प्रधानमन्त्री बन्दा न्यूनतम साझा कार्यक्रममा लेखिएको विषय हो,” गुरुङले भने, “उच्च तहका नेताहरूको सम्पत्ति छानबिन होस् भनेर यो बैठकबाटै भन्नुपर्छ । उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन होस् भनेर पनि निर्णय गर्नुपर्छ । जनताले सुन्न चाहेको निर्णय यो हो सभापति महोदय र यही प्रस्ताव हामीले बैठकको निर्णयमा प्रतिविम्बित गरौं ।”

मन्त्री गुरुङले न्यायाधीश नियुक्तिपछि अमुक पार्टी कार्यालय धाउने अवस्था आउन नदिने बताएका छन् ।

गुरुङले बैठकमा न्यायाधीश नियुक्ति गर्दा कार्यक्षमतालाई प्रमुख प्राथमिकता दिइने बताए ।

“न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो । स्वीकार गर्नुपर्छ,” गुरुङले भने, “तर, सभापति महोदय, यो कुरा भन्नैपर्छ । अब न्यायाधीश नियुक्ति गर्दा नियुक्तिपछि अमुक पार्टीको कार्यालय धाउने अवस्था अन्त्य गर्नुपर्छ, गरिन्छ ।”