कांग्रेसमा गुटको अन्त्य हुँदैन : पूर्णबहादुर खड्का

कांग्रेसमा गुटको अन्त्य हुँदैन : पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा गुट अन्त्य नहुने बताएका छन् । उपप्रधान तथा रक्षमन्त्री समेत रहेका खड्काले सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै विचार समूह वा गुटलाई नर्कान नसकिने बताए ।

“पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिले काहीँ नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,” उनले भने ।

उनले पार्टीमा गुनासो नहुने गरी काम गर्नु नै पार्टी सुधार र रुपान्तरण भएको बताए । उनले आएका गुनासाहरू सभापतिले आफ्नो तहबाट र पदाधिकारीहरूले आफ्नो तहबाट सुधार गर्नुपर्ने धारणा राखे ।

बैठकमा उपसभापति खड्काले कांग्रेस सहितको गठबन्धन बन्दा नै प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादीले अरु दलसँग मिलेर मोर्चा बनाउने जानकारी दिएको बताए ।

त्यो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको भन्दै उनले भने, ‘त्यही दिन नै समाजवादी मोर्चा बनाउने सहमति भएको छ भनेर जानकारी गराउनुभएको हो ।’

खड्काले गठबन्धनमा पार्टीको एजेण्डाबारे सम्झौता नगर्ने बताएका छन् । उनले महामन्त्री गगन थापालाई जवाफ दिँदै यस्तो बताएका हुन् । महामन्त्री थापाले गठबन्धन भत्किन्छ भनेर कांग्रेसले सम्झौता गर्न नहुने बताए पछि खड्काले भने, ‘नेपाली कांग्रेसले आफ्नो एजेण्डालाई सम्झौता गरेर न गठबन्धनमा प्रवेश गरेको छ । न कांग्रेसले आफ्ना एजेण्डालाई सम्झौता गरेर अगाडि बढ्छ ।’

उनले अगाडि भने, ‘हामी हाम्रो एजेण्डा बोकेर गठबन्धनमा छौँ । गठबन्धनमा पनि हाम्रो सीमा हामी बुझेका छौँ । यो गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको छ ।’
कांग्रेसले यो गठबन्धनलाई पाँच वर्ष लिएर जानुपर्ने उनको भनाइ छ ।