अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ



गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् ।

प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, “ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।” तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो ।

त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनसुन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे । “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइदैन”, उनले भने ।

भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताए । आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको उनले उल्लेख गरे । पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए ।

सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले मागेको प्रतिक्रियामा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए ।

उनले भने, ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’

गठबन्धन भित्रैबाट प्रयास भएको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘हुनसक्छ । हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको हाम्रो गठबन्धन शुद्ध छ ? भन्न त सकिन्न नि ? तर मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समीकरणको सरकार भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’

विकास र समृृद्धिका सवालमासमेत सरकारले समिक्षा गरिरहेको उनले बताए । उनले भने, “अर्थतन्त्रका सवालमा केही समस्या थिए, त्यसलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि लयमा ल्याउने काम भइरहेको छ ।” अर्थतन्त्रको गतिलाई तीव्र बनाएर विकासमा फड्को मार्नुपर्ने अहिलको आवश्यकता रहेको मन्त्री श्रेष्ठले बताए ।