कांग्रेसको बैठक भारदारी सभाजस्तो : गुरुराज घिमिरे

कांग्रेसको बैठक भारदारी सभाजस्तो : गुरुराज घिमिरे



काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताएका हुन् ।

‘केन्द्रीय कार्यसमितिमा जति गम्भीरता हुनुपर्ने त्यति गम्भीरता मैले देखिनँ । केन्द्रीय कार्यसमितिको बैठक कता कता मलाई लाग्यो माफ गर्नुहोला । मलाई भारदारी सभाजस्तो लाग्यो । महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरु आउँछन् । त्यतैतिर अभिव्यक्ति आउँछन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । तर जता पार्टी सभापतिले इशारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ’, उनले भने ।

नेता घिमिरेले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम नलिई उनी आफ्नै कर्मका कारण दुःखमा परेको भन्दै केन्द्रीय सदस्यले दुःख र कर्म पनि छुट्याउन नसकेको बताए ।

‘केन्द्रीय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छुट्याउनुभएन । दुःख पर्‍यो भनिदिनुभयो । कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिदैन । त्यो कर्म हो । उहाँकै कर्मले हो’, उनले भने ।