घर ,समाज र महिला

घर ,समाज र महिला



यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः
जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वर खुशी हुन्छन् । पूर्वीय दर्शनले त्यसै भन्छ । गीताले त्यही भन्छ ,बाईवलले त्यही भन्छ । नेपाली समाज अझ भनौं सम्पूर्ण दक्षिण एशियाली समाज चाहे त्यो हिन्दु ,ईसाई ,बौद्ध वा अरू केही होस् कुनै नकुनै रूपमा नारीलाई सम्मान गरेकै हुन्छ । तर सवाल उठ्छ नारीहरू पुस्तक वा धर्मग्रन्थमा मात्र सम्मानित छन् कि हाम्रो समाज र व्यवहारमा पनि सम्मानित छन् ? हामीले देवी ,दुर्गा ,काली ,भवानी भनेर पूजा गरिरहँदा हाम्रा आफ्नै घरका देवीहरू शिक्षाको उज्यालो घामबाट वन्चित त छैनन्? महिला शिक्षित भएको घर ,समाज ,देशमा सर्वत्र उज्यालो छाएको देख्न पाईन्छ ।तर शिक्षाको उज्यालो प्रकाशबाट आजको २१औं शताब्दीमा पनि नेपाल लगायत धेरै देशमा महिलामाथि विभेद जारी छ ।

छोरा जन्मदा उत्सव मनाउने र छोरी जन्मदा नाक खुम्च्याउने प्रवृत्ति हाम्रो समाजमा अहिले पनि यथावत छ । परिवर्तन नै नभएको होईन तर जुन रूपमा हुनुपर्थ्यो त्यो रूपमा हुन सकेको छैन । शहर बजारमानै त्यो विभेद देख्न पाईन्छ ।गाऊॅंघरको कुरै छाडौं ।छोरालाई महंगो र राम्रो भनिएको स्कूलमा पढाउने ,छोरीलाई सामान्य स्कूलमा पढाउने चलन अहिले पनि यथावत छ । तराई र सुदुर गाऊॅंमा त छोरीलाई अक्षर मात्र चिनाएर “ड्रप” गराउने र १५/१६ बर्षकै उमेरमा, उमेर ढाँटेर विवाह गरेर पठाउने चलन छ । सुदूरपश्चिमतिर छाउपडी प्रथा (रजस्वला भएको वेला छुट्टै गोठमा राख्ने चलन )का अवशेषहरू यथावत छन् ।

यसै प्रसंगमा नेपालको “लिडिंग” मानव अधिकारवादी संस्था मानव अधिकार तथा शान्ति समाजले केही बर्ष पहिलेदेखि आफ्ना शुभचिन्तक र दाताहरूको सहयोगमा मोरगं जिल्लाको थलाहाबाट “छोरी पढाऊॅं गरिमा बढाऔं” अभियान संचालन गरेको छ । यो (५ बर्षे)अभियान निरन्तर चलिरहेको छ भने यसै बर्षदेखि कर्णालीका ६ जिल्लाका ८४ जना दलित वालिकालाई ३ बर्षे छात्रवृति अभियान संचालन गरेको छ ।मानव अधिकारका राष्ट्रिय तथा अन्तरराष्ट्रिय मान्यता एवम् मानव अधिकारको विश्वव्यापी घोषणा पत्रलाई मूल आधार मानेर, व्यक्तिको स्वतन्त्रतालाई उच्चतम मान्यता प्रदान गर्दै शान्ति समाजले पछिल्ला बर्षहरूमा , वातावरण संरक्षण , हिमालय बचाऊँ अभियान ,चुरे संरक्षण अभियान लगायतका मानव जातिका प्रत्यक्ष सरोकार राख्ने विषयमा समेत ध्यान केन्द्रित गर्न थालेको छ ।

दक्षिण एशियाली हाम्रा छिमेकी मुलुकहरू भारत ,पाकिस्तान र बंगलादेशमा छोरीलाई मान्छे नगन्ने प्रचलन यथावत छ।शिक्षाको अधिकारबाट कुनै पनि बालबालिका वंचित बनाईनु हुँदैन भन्ने सर्वमान्य सिध्दान्त अनुरूप पाकिस्तानी चेली युसुफ मललाजाईको शैक्षिक अभियानलाई यहाँ स्मरण गर्नु उचित लाग्छ । मललाले तालीवानीहरूको आदेश विपरित छोरी पढाउ अभियानलाई निरन्तररूपमा अगाडि बढाएकी थिईन् ।यस क्रममा उनलाई तालिवानीहरूले हत्याको प्रयास समेत गरे ।

मत्युको मुखबाट उम्केपछि पनि मललाले यो अभियानलाई जारी राखिन्। फलस्वरूप राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भईन् ।सन् २०१३ मा संयुक्त राष्टसंघले “ह्यूमन राईटस् अवार्ड” बाट सम्मान गर्यो भने १० डिसेम्वर सन् २०१४ मा भारतीय समाजसेवी एवम् मानव अधिकारकर्मी कैलास सत्यार्थीका साथ नोवेल पुरस्कारबाट सम्मानित भईन् । नोवेल पुरस्कारको ईतिहासमा १७ बर्षको उमेरमा यो सम्मान पाउने उनी पहिलो चेली बन्न पुगिन् ।

जवकी कट्टरपंथी मुस्लिम समाजमा आज पनि छोरीलाई स्कूल पठाउने चलन छैन । त्यतिमात्र होईन अझै पनि कतिपय मुश्लिम समाजमा महिलालाई केवल बच्चा जन्माउने मेशिन मात्र ठानिन्छ ।तथापी नेपाल लगायत ती मुलुकहरूमा समयसंगै आएको परिवर्तनलाई कसैले रोक्न सकेको छैन । त्यसैले यदाकदा महिलाहरू “सुप्रिम” नेतृत्वमा पुग्न सफल पनि भएका छन् । राष्ट्रपति ,प्रधानमन्त्री वा सभामुख मात्र नेतृत्वदायी भूमिकामा पुग्दैमा केही हुने रहेनछ । हाम्रो सम्पूर्ण सामाजिक परिवेश र सोचलाई परिवर्तन गर्न नसक्दासम्म समतामुलक समाजको परिकल्पना आकाशको फल आँखातरि मर भने जस्तै हो ।हामीले ईतिहासमा पढेका छौं ,नारीहरूले समाज र देशको परिवर्तनमा अग्रगामी भूमिका निर्वाह गरेका छन्।

महिलाहरूको मूल नेतृत्वमा चलेको घर शिक्षित र सुन्दर हुन्छ । त्यसैगरी महिलाहरूले नेतृत्व गरेको घर ,समाज ,देश समृद्ध भएका उदाहरण यूरोपमा धेरै देख्न पाईन्छ । हाम्रै गाऊॅंघरमा पनि यदाकदा आमाको नेतृत्वमा चलेको घर परिवार अपवाद बाहेक सुखी र खुशी देखिन्छ ।खासगरी थकाली समाजमा महिलाको नेतृत्वमै घर निर्वाध चलेको देख्न पाईन्छ । तर पनि बाबु मात्र होईन धेरै आमाहरू नै छोरीलाई अर्काको घरमा जानेले किन धेरै पढ्नु पर्यो भन्ने पुरातन मानसिकताको विषाक्त मनोवृतिबाट ग्रसित छन् ।

जवसम्म हामी त्यो मानसिकताबाट माथि उठ्न सक्दैनौं तवसम्म समाज रूपान्तरण हुनै सक्दैन । समाज रूपान्तरणको लागि सर्वप्रथम व्यक्ति रूपान्त्रित हुनुपर्यो । हाम्रो बोली र व्यवहारमा एकरूपता आउनु पर्यो ।तव मात्र हाम्रा भावी सन्ततिलाई हामीले सुन्दर र सुसभ्य संसार हस्तान्तरण गर्न सक्छौं ।