काठमाडौं । अरबौं रुपैया भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायीले सुरु गरेको सडक संर्घषमा उद्योग वाणिज्य महासंघलगायत पेशागत संगठन र प्रमुख राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल निर्माण व्यवसायी महासंघद्वारा विभिन्न माग राखी भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । निर्माण व्यवसायीका भुक्तानि लगायतका जायज माग सुनुवाइमा भैरहेको ढिलाइले निर्माण मात्र नभई अर्थतन्त्रमा नै समस्या पर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ ले तत्काल माग सम्बोधन गर्न आग्रह गरेको छ ।
नेपाल काउन्सिल अफ आर्बिटेशन (नेप्का) का अध्यक्ष डा राजेन्द्र अधिकारीले महासंघको जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । महासंघले विहीबार आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दलका नेताहरूले महासंघका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
महासंघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि विहान आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रतिनिधिसभा सदस्य सूर्य थापाले राज्यले काम लगाएपछि व्यवसायीहरूको भुक्तानी रोक्न नमिल्ने बताए । देशको ऐन नियमअनुसार नै काम गरेका निर्माण व्यवसायीहरूको भुक्तानी दिने दायित्व पनि राज्यकै भएको थापाको भनाइ थियो । महासंघले उठाएको मूल्य समायोजनको माग पनि अत्यन्त सान्दर्भिक रहेको भन्दै थापाले व्यवसायीहरू मारमा पर्दा सरकार रमिते बन्न नमिल्ने बताए ।
प्रदेश सभासद छत्र बम्जनले राज्य व्यवसायीमैत्री नहुँदा निर्माण व्यवसायी पेशाबाटै पलायन हुने खतरा बढेको धारणा राखे । बालुवाटारमा धर्ना कार्यक्रमको सुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीको आन्दोलनलाई बेवास्ता गरेमा अझ सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए ।
महासंघले दिउँसो ३ बजेदेखि ४ बजेसम्म नयाँ बानेश्वरमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान गर्ने निर्माण व्यवसायीहरूको भुक्तानी सरकारले कुनै पनि हालतमा रोक्न नमिल्ने बताए । निर्माण व्यवसायीलाई काम सम्पन्न गरेपछि पनि भुक्तानी नदिनु राज्यको अर्कमण्यता भएको उनको भनाइ थियो ।
नेकपा एमालेका नेता महेश बस्नेतले भौतिक पूर्वाधारको विकास विना मुलुकको समृद्धि असम्भव भएकाले निर्माण उद्योगमा सक्रिय व्यवसायीहरूका जायज माग राज्यले अविलम्ब पूरा गर्नुपर्ने धारणा राखे ।
नेपाल निर्माण व्यवसायि महासंघले विभिन्न माग राखी दिनहुँ प्रधानमन्त्री निवासमा विहान ९ बजेदेखि १० र संघीय संसद अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिने कार्यक्रम निरन्तर जारी राख्ने र सरकार व्यवसायीको मागप्रति संवेदनशील नभएको कारण धर्ना कार्यक्रमलाई थप सशक्त रुपमा लैजानका लागि प्रदेश एव जिल्लाबाट धर्नामा सहभागी आउने क्रम जारी रहेको महासंघका प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया