निर्माण व्यवसायीको आन्दोलनमा ज्ञानेन्द्र शाहीको ऐक्यबद्धता

निर्माण व्यवसायीको आन्दोलनमा ज्ञानेन्द्र शाहीको ऐक्यबद्धता

सिठ्ठी फुकेर निर्माण व्यवसायीद्वारा सरकारको ध्यानाकर्षण


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सोमबारबाट दोस्रो चरणको अन्दोलन सुरु गरेको छ । जसअनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद भवन अगाडिसम्म सिठ्ठी जुलुश गरेका थिए ।

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वमा रहेको सोही जुलुश बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोण सभामा बदलिएको थियो । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले व्यवसायीहरूको रकम तत्काल भुक्तान गर्न सरकारसँग माग गरे । विरोधसभालाई सम्बोधन गर्दै नेता शाहीले भने, निर्माण व्यवसायीले मलाई ठेक्कापट्टा देउ भन्नका लागि यो आन्दोलन गरेका होइन, काम गरेको भुक्तानी पाउनुपर्छ भनेर यो आन्दोलन गरेका हुन् । म सरकारलाई के अनुरोध गर्न चाहन्छु भने नेपाल सरकारका कर्मचारीले २ खर्ब ११ अर्ब रुपैयाँ फिक्स डिपोजिटमा राखेर मिटर ब्याज खाइरहेका छन् । यो कुरा मैले हिजो संसदमा पनि उठाएको हुँ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए । म्याद थप मात्र समस्याको समाधान होइन भन्दै अध्यक्ष सिंहले म्याद थपसँगै भुक्तानीको व्यवस्था नहुँदा निर्माण उद्योगको समस्या जटिल हुँदै गएको धारणा राखे ।

महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए ।

महासंघका प्रवक्ता समेत रहेका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले सोमबारको विरोध कार्यक्रमलाई आगामी शुक्रवारसम्म निरन्तरता दिइने जानकारी दिए । उनका अनुसार आन्दोलनमा सहभागी हुन भोलिबाटै जिल्लाबाट थप प्रतिनिधि आउने छन् । घिमिरेले शुक्रवारसम्म पनि माग पूरा नभए साउन २८ बाट तेस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरिने बताए ।

साउन २८ सोमबारदेखि अत्यावश्यकबाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ । त्यस्तै विकासे विभागहरूमा पालैपालो विहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । तेस्रो चरणकै कार्यक्रम अन्तर्गत महासंघले निर्माण विज्ञहरूबीच प्रत्यक्ष सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नेछ ।

आफ्ना मागहरू पूरा नभए थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । महासंघको जारी आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका नीजि क्षेत्रका विभिन्न संघ संस्थाहरूले ऐक्वद्धता जनाइसकेका छन् ।