एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो तीन कर्जा योजना

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो तीन कर्जा योजना



काठमाण्डौ । एनआईसी एशिया बैंकले बजारको माग अनुसार आफ्ना ग्राहकको लागि तीन कर्जा योजना सार्वजनिक गरेको छ । जसमा अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा रहेका छन् ।

ग्राहकको आवश्यकतालाई पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको समयअवधि रहेको अठोट घर कर्जा न्यूनतम ब्याजदरमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् । अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घर कर्जा पनि एनआईसी एशिया बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्थासमेत बैंकले गरेको छ ।

त्यसैगरी, व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध गराउने छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा पनि न्यूनतम ब्याजदर कायम गरिएको बैंकले जनाएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायको अल्पकालीन वा दीर्घकालीन लगानीका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।

त्यस्तै बैंकले ल्याएको न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत न्यूनतम ब्याजदर कायम गरेको छ । कर्जा भुक्तानी अवधि भने १ वर्षको राखेको छ । यद्यपी, कर्जा नविकरण गर्ने सुविधा पनि राखेको बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको एनआईसी एशिया बैंकले जनाएको छ ।