नेपाली श्रमिकको गन्तव्य युरोप

नेपाली श्रमिकको गन्तव्य युरोप

एक वर्षमै ३९ हजारले लिए श्रम स्वीकृति


ग्लोब नेपाल
108
Shares

काठमाडौं । खाडी र मलेसियामा केन्द्रित भएको वैदेशिक रोजगारी बिस्तारै युरोपेली देशतर्फ केन्द्रित हुँदैछ । गत एक वर्षमा श्रम स्वीकृति लिएरै ३९ हजार युवा युरोपेली मुलुक गएका छन् । तर ती देशसँग सरकारले सामान्य श्रम समझदारीसमेत गर्न नसक्दा श्रमिकहरू आधारभूत सुविधाबाट समेत वञ्चित भइरहेका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा मात्रै १३ हजारभन्दा बढी श्रमिक श्रम स्वीकृति रोमानिया गएका छन् । त्यस्तै क्रोएसियामा ७ हजार, माल्टामा ५६ सय र पोल्यान्डमा ५ हजार युवाले रोजगारीका लागि संस्थागत श्रम स्वीकृति लिएका छन् ।

गत एक वर्षमा मात्र सरकारसँग अनुमति लिएर युरोपेली मुलुक पुग्नेको सङ्ख्या ३९ हजार छ । अहिले धेरै नेपाली युवाको रोजाई रोमानिया, पोर्चुगल, पोल्यान्ड, माल्टाजस्ता मुलुक रहेकाले तिनीहरुसँग श्रम समझदारी गरेर श्रमिकको अधिकार प्रत्याभूति गर्न विज्ञहरूले सुझाएका छन् ।

युरोपका नयाँ गन्तव्यमा जाने क्रम बढेसँगै ठगीका घटना पनि भइरहेका छन् । वैदेशिक रोजगार विभागमा पछिल्लो एक वर्षमा ३३ सय ५६ उजुरी परेका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा झन्डै दोब्बरले बढी हो । ती देशसँग श्रम समझदारी गर्दा यस्ता ठगी न्यूनीकरण हुने र पठाउने व्यक्तिलाई जिम्मेवार बनाउन सहयोग पुग्ने विज्ञको भनाइ छ ।

सरकारले अहिलेसम्म १० वटा गन्तव्य मुलुकसँग मात्र श्रम समझदारी गरेको छ भने नेपाली श्रमिक बढी जाने १ सय १० मुलुकसँग अझै श्रम समझदारी गरेको छैन । श्रम मन्त्रालयका अधिकारीहरूले भने नेपालीको रोजाइमा रहेका देशसँग श्रम समझदारीको प्रयास भइरहेको बताएका छन् ।

द्वन्द्वग्रस्त र सुरक्षाका दृष्टिले जोखिमपूर्ण मुलुकमा समेत श्रमिकहरू गइरहेका छन् । श्रम समझदारी नहुँदा गन्तव्य मुलुकमा जाने श्रमिक आधारभूत सुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ ।