सिद्धान्तः सत्ता र शक्तिको खेल

सिद्धान्तः सत्ता र शक्तिको खेल



प्रायः सबै मान्छे विषम परिस्थिति झेल्न सक्छन् ।तर कुनै मान्छेको चरित्र जाँच्नु छ भने उसलाई सत्तामा पुर्याऊ।
-अब्राहम लिंकन

व्यक्तिगत तवरले म नेपालका प्रायः सबै नेतालाई सम्मान गर्छु । विगतमा उहांहरूले गरेका भनिएका संघर्ष र वीरताका गाथाहरू बारे म भलिभाँती जानकार छु । त्यसैले कतिपय प्रसंगमा उहाँहरुका विगतका क्रियाकलापप्रति सम्मानपूर्वक असहमति जनाउँदै अमेरिकी राष्ट्रपति अब्राहम लिंकनका माथि उल्लेखित भनाई नेपालको वर्तमान राजनितीमा कसरी मेल खाँदै छ ,त्यसवारे संक्षिप्त चर्चा गर्ने जमर्को गर्दैछु।

नेपाली राजनितीमा देखा परेका तीव्र विसंगतिलाई जजस्ले जतिसुकै टालो हालेर टाल्न खोजेपनि अब त्यो टालिने अवस्था रहेन ।नेताहरूका सिद्धान्त ,व्यबहार र बोलीमा देखा परेका परस्पर विरोधाभाषापूर्ण गतिविधिले यतिखेर नेपाली जनता वाक्कदिक्क भएका छन् ।निर्वाचन अघिको गठवन्धनले लोकतन्त्र कमजोर हुँदै गएको छ । तर यो कुराको भेऊ नेताहरूले या त पाएकै छैनन् या त्यसको दोषारोपण कुनै अमुक ,अदृश्य शक्तिलाई लगाएर पन्छिन खोज्दैछन् ।आखिर सत्ताको चास्नीमा बसेर हेर्दा त सबैतिर ठीकै देखिन्छ होला तर बजारमा जे जस्ता समाचारहरू दिनदिनै बाहिर आएका छन् ती पढ्दा र सुन्दा विरक्त लाग्छ । कता हरायो वीपीको सपना ?कहाँ गयो बहुदलीय जनवाद ? माओवादी सपनाको खेती गरेर देशका होनाहार युवाहरूलाई आफ्नै दाजुभाई दिदीबैनीको गर्दन छिनाल्न आदेश दिने त्यो कमान्डर आज किन गेरूबस्त्रको शरणमा पुग्यो ? यी र यी जस्तै यावत प्रश्नहरूको जवाफ खोज्दैछन् नेपाली जनता ।

कति सोझा छन् है नेपाल जनता जसले जे भन्यो त्यही पत्याउँदै हिंड्ने ? कहिलेकाहीं त हिटलरका कथाले हामी नेपालीलाई पनि गिज्याउँछ जस्तो लाग्छ ।

हिटलरको बर्बरताको बारेमा मैले कतै पढेको थिएँ ।हिटलरले कुखुराको खोरबाट कुखुरा निकालेर तिनीहरूका रौं राताम्य हुनेगरी उखेल्ने र त्यसपछि फेरि चारो छर्दै हिंड्ने गरेको प्रसंग । भोका कुखुराहरू केहीबेर पहिले आफ्नो रौं रगत आउन्जेल निकालेको बिर्सेर त्यही चारोको लोभले हिटलरको पछि लागिरहन्थे रे । कतै हामी नेपाली हिटलरका कुखुरा त भैरहेका छैनौं ? विचारणीय कुरो छ । होइन भने फरक-फरक सिद्धान्तको बर्को ओढेर हिंड्ने नेताहरूको व्यवहार करिब करिब उस्तै उस्तै किन देखिन्छ ? किन प्रश्न सोध्न सक्दैनौं हामीले हाम्रा नेतालाई ? गठवन्धनका नाममा हामी कहिलेसम्म ठगिने ? लोकतन्त्र खतरामा छ भनेर तिनै नेताले चोकचोकमा बसेर भाषण गर्दा थपडी पड्काई रहने तर लोकतन्त्र कोबाट खतरामा परेको छ ? भनेर कहिल्यै प्रश्न नगर्ने ? हामीलाई सोझो र सपाट उत्तर चाहियो नेताजी भनेर सोध्ने हिम्मत पार्टीभित्र किन राख्न सकिरहेका छैनौं ?
अहिले विभिन्न नाम र ठामका भ्रष्टाचारका समाचार बर्गेल्ती बाहिर आएका छन् ।

तिनमा प्रायः सबै प्रमूख दलका ठूला साना नेता वा तिनका श्रीमती, छोरा, सालासाली वा परिवारका अन्य सदस्यको नाम जोडिंदा अनुसन्धान पनि मोडिएका छन् । किन यस्तो हुन्छ ? सुनकाण्ड र भुटानी शरणार्थी काण्डको शुरूवाती दिनका सरकारको तर्फबाट गरिएका,अनुसन्धान र तहकिकात आशालाग्दा थिए । जनताहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचन्डसँग आंशिक आशावादी देखिदै थिए । अब त केही हुन्छ कि भन्ने सकारात्मक तरंग फैलिएको थियो ।

तर त्यो तरंगको तार त्यतिवेला विच्छेद भयो जब माथि उल्लेखित प्रकरणमा गहन अध्ययन अनुसन्धान गरिरहेका प्रहरी उच्च अधिकारीहरूको रातारात एकसाथ सरूवा भयो । त्यति मात्र कहाँ हो र गृह प्रशासन अन्तरगतको भरपर्दो निकायबाट अनुसन्धान भै रहेको विषयलाई साथ र सहयोग दिनु त कता हो कता अर्को संसदीय वा सर्वदलीय आयोगको कुरा झिकेर मूल मुद्दालाई ओझेलमा पार्ने दुस्प्रयास भै रहेको छ । यी र यस्ता गंभीर प्रकृतिका प्रकरणमा संलग्न जो कोहीलाई पनि देशको वर्तमान कानूनको अधिनमा रहेर कारवाही नहुने हो भने निःसन्देह लोकतन्त्र खतरामा पर्छ,पर्छ ।

यतिखेर सम्पूर्ण देशको ध्यान कमरेड प्रचण्ड र उनको वर्तमान मन्त्रीमण्डलमा छ । देश ,जनता र सिस्टमको हितमा काम गर्ने कि आफ्नो सत्ता टिकाउने ? यो विषम परिस्थितीलाई कसरी पार लगाउने ?प्रचण्डलाई अवसर र चुनौती दुवै छ । संभावित ठूलो राजनीतिक दुर्घटनाबाट मुलुक ,जनता र लोकतन्त्रलाई कसरी सुरक्षित अवतरण गराउने सरकारका आगामी कदमहरूले निर्धारण गर्नेछ ।