सिमलटारकी अप्सरा

सिमलटारकी अप्सरा



नाम मात्रको डोजर सडक सिमलटार आइपुगेको थियो । सडक स्कुललाई छोएर कर्कले खोलाको किनारैकिनार हुँदै माथिल्लो डाँडा निस्कनुपर्ने थियो । तर, प्रधान बा’को घर नछोई सडक कसरी अगाडि बढ्नसक्थ्यो र !

त्यसैले सडकको नक्सा नयाँ बनाइयो । जसका लागि जुनारबोटेको घुर्यान खेतमा सडकले दुई मोड लिनुपर्ने भयो ।

जुनारबोटे बूढाले खेत मास्न मानेनन् । प्रधान बा’ले जीवनमै पहिलोपटक सुन्दर पस्मिनाको बर्को कोसेली बोकेर जुनारबोटेको बलेसी टेके ।

कुर्ताको खल्तीमा हात घुसार्दै उनी बोले, ‘हेर दाइ, तिम्रो कौडीको भाउमा बिक्ने जग्गा सडकले छुनासाथ करोडको भाउ पाउँछ । खेत मासिएर के भो त ? वर्खाभरि हिलोमा गाडिएर श्रम गर्नुभन्दा घरमै व्यापार गरेर बसीबसी खाऊ । घुर्यानको जुनार सहरको भाउमा बेचौला, यहीँ बसेर ।’

‘खोइ प्रधान भाइ, जातैले नगरेको व्यापार के गरिखाइएला र ?,’
जुनारबोटेले सल्काउन तयार गरेको बिँडी कानमा सिउरिँदै भने, ‘आफू त वस्तुभाउ पालेर बस्ने मान्छे । गोबर र गहुँतमा डुबेको मान्छे। चोइटिएका नङ हातले चुँडाउन खोज्दै भुइँतिरै हेरेर बोले ।

आँगनमा उभिएर कुरा सुनिरहेको उमेशतिर फर्किएर बोले प्रधान बा, ‘हँ भतिज ! युवाले अलिक फरक तरिकाको जीवन सोच्नुपर्‍यो नि ! घुर्यानमा बाटो आएपछि तिमी व्यापार गर । दुलहीलाई स्कुलमा जागिर हाल्दिने काम मेरो भो । बुढेसकाल लागेका बा–आमा कति काम गर्छन् ? तीर्थवर्त गरून् ।’

प्रधान बाले काम पनि भाग लगाइदिए । उनी कुर्ताको फेर टक्टकाउँदै उठे । र, उमेशसँग अन्तिम शब्द भने, ‘बासँग राम्रो सल्लाह गर्नू ।’ उमेशको कुममा एकचोटि धाप मारेर प्रधान बा हिँडे ।

भोलिपल्ट मञ्जुरीनामा लिएर उमेश आफैँ उनको घर पुगेको थियो । त्यसपछि घरमुनि सडकले दुई फन्को मारेर वर्ष दिन भात खाने खेत एकैछाकमा खाइदियो । जग्गै नभएपछि करोडको भाउ कता बसोस् । जुनारबोटेले ‘करोड’ भन्ने शब्दै सुन्न पाएनन् ।

भर्खर बिहे गरेकी दुलही अप्सराले स्कुलमा केटाकेटी पढाउने जागिर पाई । जग्गै नभएपछि उमेश साह्रै फुर्सदिलो भयो । तर, खान त केही काम गर्नै पर्‍यो । प्रधान बा’को सल्लाहजस्तो सजिलै हुने व्यापार केही पत्तो लागेन ।

सडकको धुलोले घर छोप्यो । तरकारी बारी छोप्यो । चुलाचौका कहीँ सफा रहन दिएन । अन्ततः सडकसँग रिसाएको उमेशले बाइक किनेर सडकको ढाडमा कुदाउने रहर गर्‍यो । एक्लो छोरो हो । बा’ले उसको कुरा काट्नै सक्दैन’थे ।

लैनो भैँसी र एकहल गोरु बेचेर उमेशले बाइक किन्यो । गाउँमा सडक पुगे पनि प्रशस्त गाडी थिएन । बाइकमा सदरमुकामसम्म मान्छे पुर्याउने–ल्याउने कामले मनग्यै आम्दानी गरेको देखेको थियो उसले ।
०००
एकदिन उमेशले अप्सरासँग थानडाँडामा बालाचतुर्दशी मेला हेर्न जाने सल्लाह गर्‍यो । उमेश पत्नी अप्सरालाई बाइकमा लैजान चाहन्थ्यो । तर, अप्सरा डराएर चढ्न मान्दिन्थी । डोजरले खनेको नाम मात्रको सडक ! धुलोले वरिपरि केही देखिन्नथ्यो । त्यसमाथि उमेशको बेपर्वाहको हँकाई ।

अप्सरा जंगलको छोटो बाटो हिँड्दै जान चाहन्थी, तर उमेशको जिद्दीका अगाडि उसको केही लागेन ।

अप्सराले रातो कुर्ता लगाई । सिन्दुरको लामो धर्को तानी । दुवै नाडीभरि चुरा, आँखीभौँमा गाजल थपेर झन् चहकिलो बनाई । पिपलपाते ओठमा रातै लिपिष्टिक दली । अनि, मुसुक्क मुस्काएर एउटा सेल्फी लिई ।

उमेशले बाहिरबाट हर्न बजायो । ऊ सल मिलाउँदै हतारहतार बाहिर निस्की । उमेशले धुलाम्मे बाटोमा बेतोडले बाइक हुइँक्यायो ।

एक वर्षअघि उमेशले भनेको वाक्य सम्झना आयो, ‘अप्सरा ! मलाई मारे नि मार, म त तिमीसँग बिहे गरेरै छाड्ने हो ।’

अप्सरा त्यही सम्झेर मुसुक्क मुस्काई । सानिमाको दुर्व्यवहार र बावुको बेवास्ताले निरीह अप्सरालाई उमेशको माया औषधिजस्तै भएको थियो । अन्ततः माया दिने उमेशसँगै जीवन बिताउने उसले निर्णय गरी ।

एसएलसी परीक्षा सकिएकै दिन उनीहरूले भागी बिहे गरे ।

छोरी जन्मी । आजभोलि भन्दाभन्दै छोरी हुर्कंदै थिई । छोरी स्कुल जाने भई । छोरीलाई बोर्डिङ पढाउने रहरले उमेशलाई पिरोल्न थाल्यो । त्यसैले पनि ऊ एकपल खेर नफाली आफूलाई ड्राइभर बनाएर गाउँमै ट्रिपर चलाउन चाहन्थ्यो ।

सदरमुकाममा ड्राइभिङ सिक्न एक दिन बाइकको कान बटारेरै उडेको थियो धुलोभित्र कतै ।

‘उमेशको बाइक एक्सिडेन्ट भयो रे, बेहोस छ रे !’ मानिसहरू ह्वारह्वार्ती कर्कले खोलातिर दौडिँदै थिए ।

‘को उमेश ?’

‘जुनारबोटेको छोरो क्या ।’

‘एम्बुलेन्स् बोलाऊ, एम्बुलेन्स् ।’

‘ढुकढुकी नै छैन अरे !’

उमेशको कानबाट थोरै रगत बगेको थियो । यति मात्र हो, देख्नमा ऊ ‘निदाएको छ’ भन्ने लाग्थ्यो ।

साँझ पर्दै थियो । बलेसीमा राखिएको उमेशको लासछेउमा उमेशका बा–आमा र अप्सरा बेहोस थिए ।

कसैको आँखामा आँसु बाँकी थिएन, तर सबै रोइरहेका थिए । प्रधान बा आएर भने, ‘लास उठाओ । रोएर ऊ फर्किन्न । रात पर्न लागिसक्यो ।’

मलामी लास उठाउन लागे । उमेशकी छोरी मलामीको गोडा समातेर चिच्याउन लागी, ‘मेरो बाबालाई नलैजाऊ ! मेरो बाबालाई नलैजाऊ !’

बाल क्रन्दनले आँगनमा आँसुको भेल बग्यो । कोकोहोलो मच्चियो ।

कसैले बालिकालाई उठाएर अन्तै लान खोजे । ऊ टोकेर, चिथोरेर फुत्किई । र फेरि मलामीको गोडामा झुन्डिएर टोक्न थाली, चिथोर्न थाली । ऊ कहालिँदै उफ्रिई, ‘मेरो बाबालाई नलैजाऊ…’

प्रधान बाले खल्तीबाट बीस रुपियाँ दिँदै सानी बालिकालाई फकाए, ‘नानु तिम्रो बाबालाई आइया भ’को छ । अस्पताल लानुपर्छ । डाक्टरले निको बनाइदिनुहुन्छ । अनि, बाबा भोलि–भोलि आउँछन् ल !

ऊ हेर त, तिम्रो मामु निदाउनु भ’को छ, अहिले उठेपछि मामुसँग यो पैसा लिएर पसलमा चाउचाउ किन्न जाऊ है ।’

बालिका रून छाडी । बेहोस परिवारका बीचबाट एक्लो सहारा उमेशको लास उठ्यो ।

बलेसीमा बेहोसीमै दुलहीको सिउँदो पखालियो । हातको चुरा फुटाउन लाग्दा बालिकाले आफ्नो हातले आमाको चुरा बचाउन छोपी । उज्याएको मुङ्ग्रो थाम्दाथाम्दै बालिकाको हातमाथि पर्‍यो । बालिका चिलिलिली चिच्याई । कानैनेर छोरीको आवाज परेकाले अप्सरा एकैचोटि होसमा आई । बा–आमा होसमा आए ।
०००
समय न हो, बितिरहन्छ । मानिस हाँसे पनि, रोए पनि, आखिर समय रोकिँदैन । उमेशको कर्तव्य अब अप्सराको काँधमा आइलागेको थियो । छोरी सन्ध्या स्कुल जाने भएकी थिई । एसएलसी मात्र पास गरेकी अप्सराले अलिकति कलेजसम्मको शिक्षा हासिल गर्न पाए जागिर बढ्ने थियो । तर, पढ्ने समय थिएन । ट्युसन पढेर प्राइभेट परीक्षा दिने विचारमा थिई, ऊ ।

‘पख्नुस् न अप्सरा म्याम ! म पनि उही स्कुल जाने हो त,’ पछिपछि आउँदै गरेका झा सरले अप्सरालाई भने ।

विज्ञान र हिसाब पढाउने झा सर खाली समयमा भने आदर्शका गफ गर्न रुचाउँथे । भन्थे, ‘मानिस पारदर्शी हुनुपर्छ । इमानदार हुनुपर्छ ।’ तर, उनी आफैँ कुनै रहस्य लुकाएर हिँडेजस्तो देखिन्थे ।

उनको नजर गाउँका एकल महिलामा पर्थ्यो अरे । एक दिन अफिसमा हेडमास्टरले सुझाएका थिए, ‘झा सर ! हाम्रो स्कुलको सफलतामा तपाईंको ठूलो हात छ । बाहिर जुन सुन्नमा आएको हल्ला छ, त्यो बारे ख्याल गर्दिनुहोला । टाढा रहिदिनुहोला । तपाईं हाम्रो इज्जत हो । तपाईं….!

हेडसरको कुरा काटेर झा सर बोले, ‘यो सब वाहियात हल्ला हो सर ! म अप्सरालाई धेरै श्रद्धा गर्छु । अनि, उनकी छोरी सन्ध्यालाई माया । उनीहरूलाई हाम्रो मायाको खाँचो छ ।’

हेडमास्टर केही रिसाएर बोले, ‘सरी झा सर ! तपाईंबाट हामीलाई शिक्षाको खाँचो छ । व्यक्तिगत मायाको कसैलाई खाँचो छैन ।’

झा सर केही नबोली जुरुक्क उठेर हिँडेका थिए ।

साउँलो वर्णको गोलो अनुहारमा फ्रेन्चकट दारी, करिब पाँच फिट छ–सात इन्चको उचाइँ भएका शरीरमा सेतो सर्ट, कालो टाई, उनको लवाइ आकर्षक हुन्थ्यो ।

झा सर बच्चा, बूढा, युवा सबैमा उत्तिकै मिल्ने खालका थिए । अनेक जातजाति मिलेर बसेका सिमलटार गाउँमा उनी हरेक जातका भाषा बोलिदिएर विशेष लोकप्रिय थिए । आदर, सत्कार गर्नमा चिनिएका थिए ।

एक दिन कक्षामा विषय प्रवेशपूर्व विद्यार्थीको ध्यानाकर्षण गर्न झा सरले दर्शनको कुरा निकाले । ‘बुद्धले भनेका थिए, आगोलाई आगोले कहिल्यै निभाउँदैन, पानी चाहिन्छ । बिल गेट्सले भनेका छन्, आउँदा शताब्दीहरूमा अरूलाई सशक्त बनाउने व्यक्ति नै नेतृत्वदायी भूमिकामा हुनेछन् ।’

‘ह्या सर !’ अग्नि एक्कासि उफ्रियो, ‘हामी म्याथ पढ्न आएका हौँ । काँ दुनिया गफ हानि’रा !’

झा सरले एक थप्पड बजाए । अग्नि पनि के कम, प्रधान बा’को एक्लो नाति पो हो । ऊ डेस्कमाथि चढेर सरलाई मुक्का हान्न तयार भयो । सर पछि हटे । अरू विद्यार्थीले उल्टै अग्निलाई कुनामा लगेर भकुरे ।

अन्ततः सरले नै छुटाउनुपर्‍यो । ‘आगोले आगो निभ्दैन’ भन्ने जानेका झा सरले अग्निलाई सम्झाउँदै माफी मागे । हात मिलाए, गला मिलाए ।

तर, साँझ प्रधान बाको फोन आयो, ‘हेल्लो झाजी ! यो गाउँमा बस्ने रहर पुग्यो ? जागिर खाने मन छ कि छैन ?’

झा सर बोले, ‘दर्शन प्रभु ! हजुर त यो गाउँको लागि राजा हुनुहुन्छ । हजुरको कृपा मलाई सधैँ चाहिन्छ । मबाट केही गल्ती भए माफ पाऊँ ।’

‘ठिक छ, आइन्दा यस्तो गल्ती नदोहोर्याउनू । मैले एक लपेटा नहानी हुर्काएको नाति हो अग्नि । यो कुरा मनमा सधैँ राख्नू ।’

‘हजुर नातिलाई….’ प्रधान बाले फोन काटे । झा सरले आफैँ फोन गरेर भने, ‘प्रभु ! मेरो थोरै वाक्य बाँकी रह्यो ।’

‘अँ ! के वाक्य ?’

झा सरले भने, ‘हजुरलाई नातिको माया जति लाग्छ, मलाई विद्यार्थीको माया पनि उत्तिकै लाग्छ । सुधार्ने प्रयासमा एक लपेटा हानेको हुँ । अरू पूर्वाग्रह केही छैन ।’

‘म अरू जान्दिनँ । जागिरको माया गर्नू’ उनले फेरि फोन काटे ।
०००
एकदिन अप्सरा, छोरी सन्ध्या र झा सर स्कुल जाँदा सँसगै भए । गर्मी याम थियो । बाटोतिर जताततै इन्द्रकमल मगमगाएर सुगन्धित हावा बग्दो थियो । सबैभन्दा पछि हिँडिरहेका सरले भने, ‘इन्द्रकमल कस्तो राम्रो फुलेछ है । अप्सराजस्तै !’

साँच्चै ! अप्सराको सारी पनि बीचमा सेतो र पारीचाहिँ हरियो थियो । इन्द्रकमलकै पातजस्तो । सन्ध्याले रातो जामा लगाएकी थिई । सायद अप्सरा आफ्नो रातो मोहको तिर्सना छोरीको जामामा मेट्थिन् होली !

‘अप्सरा ! तिमी आफूलाई यो फूलजस्तो लाग्दैन ?,’ सरले फेरि सोधे ।

उनले लजाउँदै भनिन्, ‘काँ हुनु सर । बूढी भएँ अब । सत्ताइस वर्ष लागिसकेँ ।’

‘मभन्दा ठिक दश वर्ष सानी रहिछ्यौ,’ सरले भने ।

सरले प्रसंग बदले, ‘तिमीहरूको घर पनि सडकले लग्यो । मुआब्जा माग न ।’

‘कल्लाई ?,’ अप्सराले फर्केर सोधिन् ।

‘सरकारलाई । प्रधान बा’लाई ।’

सरले खल्तीबाट रुमाल निकालेर अनुहार पुछे । अनि, विगत सम्झिए । उमेश उनको भाइजस्तो थियो । हेर्दाहेर्दै जुनारबोटे प्रधान बा’को कारण सडकमा आइपुगे । जुनारबोटे बा’ले प्रधान बा’का विरुद्ध कुनै प्रतिक्रिया गरेनन् । यस मानेमा पनि झा सरलाई छटपटी भइरहेको थियो ।
०००
पीडाहरूको खात लागेपछि हृदयलाई ढुंगाजस्तै जब्बर बनाइदिँदो रहेछ ! सासूले बेलाबेला ‘तेरो कर्मले मेरो छोरो खाइस्’ भन्ने आरोपको धार रेट्थिन् । अप्सरा चुपचाप सहेर बस्थिन् ।

सासूको वचनले रेट्दारेट्दा सुरुसुरुमा अति चहराए पनि पछिपछि मतलब लाग्नै छाडेको थियो, अप्सरालाई । बरु वचनको धार भुत्तिएर सासू गाली गर्दागर्दै आफै थाकेर खुइर्ई मार्थिन् ।

जीवनमा पहिलोचोटि औधी माया गरेको मान्छेका बा–आमा हुन् सासूससुरा । यही साइनोले सेवामा कहिल्यै कमी हुन दिइन अप्सराले ।

कहिलेकाहीँ त सासू पनि मन बदलेर भन्थिन्, ‘दुलही ! तँ हाम्रो आमा भइस् ।’ अप्सरा हर्षको आँसु पुछ्थिन्, खुसुक्क ।

ग्वालीमै भए पनि, जग्गा नभए पनि, जुनारबोटे दम्पतीको वृद्धाभत्ता आउँथ्यो । अप्सराको तलब बाह्र हजार आउँथ्यो । प्रधान बा’कै भए पनि गाईभैँसी स्याहारेर दूध खान पाउँथे नै । करेसावरिपरि सागपात, फलफूल थियो । मानसिक दुःखको खात भए पनि शारीरिक सुख फिर्दै थियो ।

एक दिन स्कुल जाँदै गर्दा अप्सरा र झा सर बाटोमा सँगै भए । सरले सोधे, ‘के चलिरा’छ त अप्सरा जीवनमा !’

‘केही छैन सर ।’

‘क्याम्पस ज्वइन गर्ने भन्थ्यौ, कुरा हरायो त ।’

‘भ्याउँदिनँ सर । घरको कामै कति हो कति,’ अप्सराले दिक्दारी पोखी ।

सरले भने, ‘केही समस्या परेको भए फोनमा भन्दा पनि हुन्छ ।’

‘फोनै छैन । अस्तिनै फुटेपछि किनेकै छैन,’ अप्सराले भनी ।

‘कि म किन्दिम् ?,’ अप्सरातिर हेर्दै सरले भने ।

अप्सरा निक्कै बेर बोलिन ।

फेरी झा सर नै बोले, ‘सुनिनौ ? कि म किन्दिम् त साधारण खालको !’

‘पर्दैन सर,’ अप्सराको बोली फुट्यो, ‘फोनको कामै छैन ।’

‘भएपछि पो काम आउँछ त लाटी !’

‘होस्, सर । फोन चलाएँ भने पहिलेकै बनाएर चलाउँछु । त्यो उसले…’ अप्सराको बोली बन्द भयो । उता फर्किएर थाहा नपाउने गरी खुसुक्क आँसु पुछिन् ।

सर फेरि बोले, ‘म शुक्रबार सदरमुकाम जाँदै छु । त्यो बेला बनाएर ल्याइदिन्छु । हुन्छ ?’

अप्सराले जवाफ दिइनन् । उनीहरु स्कुल पुगे ।

अप्सराको फोन बनेछ । आइतबार स्कुलबाट घर फर्किंदै गर्दा चौतारो अगाडि एक छात्राले पछाडिबाट बोलाएर फोन दिइन् । फोन खुल्नासाथ पहिलोचोटि स्क्रिनभरि झा सर मुस्कुराइरहेका थिए ।

सडकमै उभिएकी अप्सरा एक्कासि तर्सिएर उमेशलाई यताउति खोज्न थाली । उसको दुर्घटना त्यतै कतै त भएको थियो ।

अप्सराको हात काम्यो । झा सरको फोन आयो त्यही बेला, ‘अप्सरा ! फोन पायौ ? तिम्रो क्यामेरामा मेरो फोटो टेस्ट गरेको हो । नमेट है, मलाई पठाइदेऊ ।’

अप्सरालाई काम छुट्यो । ऊ हातमै फोन बोकेर घर पुगी । घर के भन्नु र ! तर, ग्वाली नै भए पनि त्यहाँ अभिभावकको बास थियो । भावी पिँढीको बास थियो । त्यसैले पनि ग्वालीले घर बन्ने अवसर पाएको थियो ।

आमाको हातमा फोन देखेर सन्ध्या रमाउँदै आई । फोन खोसी र दौडेर हजुरआमालाई देखाउन पुगिहाली । अप्सराले फोन लक गर्न भ्याएकै थिइन् ।

सासूले बुहारीको फोनमा झा सरको फोटो देखेर घिनाउँदै फालिदिइन् । त्यही साँझदेखि सासूले अप्सरालाई चुल्होमा जान दिइनन् । दुलही भन्न छाडिन् । त्यही साँझदेखि अप्सरालाई ग्वालीको पनि मुनि बाछोपाडोहरूसँगै बस्ने गरी छुट्ट्याइयो । अप्सराको बोली झन् हराउँदै गयो ।

आमा समूह आएर उनकी सासूलाई हापझाप पारेर फेरि चुल्हामा मिसाइदिए । तर, आफूले पकाएको खाना नखाई, सासूससुरा भोकै सुतेपछि उसले चुल्हो छुन छाडी । उनीहरूले खाँदा नातिनीलाई चाहिँ दिन्थे । तर, सन्ध्या आमासँगै खान्छु भनेर हातैमा भात बोकेर कुरिरहन्थी ।

‘सम्मानविहीन जीवन के बाँचिराखेकी ?,’ आधा रातमा अपरिचित स्वरले भन्यो, ‘यो जीवन यहीँ सिध्याइदेऊ र नयाँ जीवन सुरु गर ।’ अर्धनिन्द्रामा अप्सरा झसँग भई ।

ऊ सरक्कै उठी र सल लिएर बाहिर निस्किई । त्यही बेला सासूले खोकिन् । हजुरआमाको खोकीले ब्युँझिएकी सन्ध्याले आमा खोजेर कोकोहोलो मच्याई । अप्सराको पाइला अगाडि सरेन । सासूले बत्ती बालेर नातिनी हेरिन् । एक्लै रोइरहेकी नातिनी बोकेर आफ्नो ओछ्यानमा लग्दै गर्दा अप्सरालाई देखेर रुखो स्वरमा सोधिन्, ‘काँ ग’थिस् ?’

कहिल्यै तुच्छ नबोल्ने ससुराले पनि चोट दिएर बोले, ‘त्यै भेटेर आ’की होली नि ।’

बिहान आमा समूहको मिटिङ थियो । स्कुल जान हतार भएपछि मिटिङ नसकिदै हिडिन् । चुल्होमा जान नपरेपछि उनलाई काम कम भएको थियो । छोरीलाई नुहाइदिई । आफूले नुहाइ । लुगा लाइवरी छोरी डोर्याउँदै स्कुल हिँडी ।

आधा रातको अपरिचित स्वर ‘को होला ?’ ठम्याउन खोजी । लाग्यो, सायद उसकै मनले बोलेको थियो । सादय उमेशले बोलेको थियो ।

बाटोभरि भुइँझारहरू फुलेका थिए । सेताम्य इन्द्रकमल ओइलाए पनि रङ–बिरंगी गुलाफ फक्रिएका रहेछन् । तिनलाई हेरेर अप्सरा एकचोटि मुसुक्क मुस्कुराई ।

टिफिन टाइममा झा सरले फोन गरे, ‘कस्तो छौ ? बिहान मिटिङमा के बोल्यौ त ?’

‘केही बोलिनँ ।’

झा सर एक्कासि रिसाए, ‘कस्तो केही नबोलेको ? तिमीजत्तिको मान्छेले अन्याय–अत्याचारबारे नबोलेर हुन्छ ?’

‘के बोल्नु र ?’

झा सर कड्किए, ‘जुनारबोटे परिवारले ग्वालीमा किन बस्नुपरेको छ ? तिम्रो सिउँदो कसको कारणले पुछियो ? खानेपानी आयोजनाको आधा हिस्सा बजेट कसले खायो ? घरघरमा चर्पी निर्माणको लागि आएको पैसाको हिसाब कहाँ छ ? गाउँको बीचबाट जाने भनेको मोटर बाटो आफ्नो जग्गातिर घुमाएर गरिबलाई उठिबास लगाउने को हो ? यी सबै अन्यायको विरुद्धमा बोल्नु परेन ? उमेशको आत्मालाई शान्ति दिन चाहन्छौ भने तिमी यो गाउँको शोसकहरूको विरुद्धमा उठ । यो गाउँको आधा जनता तिम्रो पछाडि लगाइदिन्छु ।’

झा सरको कुराले अप्सराको शरीरमा चरररर्र काँडा उम्रियो । रगत उम्लिएर आयो । यी सबै प्रश्नको उत्तर उही सामन्ती प्रधानकै झोलीमा थियो ।

अप्सरा फटाफट स्कुलबाट घर गई । दिउँसै घर पुगेकी छोरीले बाटैमा खाजा ल्याइदिई । छोरीसँग खाजा खाँदै सरले बोलेका सवालहरूमा छलफल गर्न महिला समूहको अध्यक्षलाई फोन गरी । आउने शनिबार मिटिङ बस्ने कुरा भयो ।

तर, अनौठो त के भयो भने, आमा समूहको मिटिङ बस्ने शनिबारको अघिल्लो दिन शुक्रबारै अप्सरा र झा सरको ‘अनैतिक सम्बन्ध’का बारे स्पष्टीकरण र कारबाहीको कचहरी बस्ने सूचना आयो ।

झा सरलाई स्कुलबाट निलम्बन गरियो । अप्सरासँगको सम्बन्ध एक सहयोगीको रूपमा मात्र हो भन्ने बुझाउन झा सर गाउँभरि दौडिए । आमा समूहमा अप्सरालाई कारबाही गर्ने वा नगर्ने भन्नेमा दुई खेमामा बाँडिए ।

झा सर र अप्सरालाई कालोमोसो दलेर गाउँ निकाला गर्ने प्रधानबा’को प्रपन्च अघिल्लो दिन नै भुसको आगो झै गाउँभरी भित्रभित्रै फैलिसकेको थियो ।

शुक्रबार आयो । प्रधान बा’को घरमा बस्ने भनिएको बैठक झा सरकै असहमतिमा गाविसको प्रांगणमा सारिएको थियो । गाविसका चौर, पाखा डिल, भित्ता सबै मान्छेले भरिएका थिए । बिहानै सुरु गर्ने भनिएको कचहरीमा दश बज्दा बल्ल प्रधान बा आए । त्यो पनि केही पछुवाहरूको साथ । प्लास्टिको आरीमा एक मानाजति तेलमा मोलिएको मोसो र दुईवटा थोत्रा जुत्ताका माला पनि ल्याइयो ।

तर, अझै प्रधान बा कसैलाई कुरिरहेका थिए । सायद उनका हनुमानहरू आइपुगेका थिएनन् । सायद उनीहरूलाई यही बेला जुवामा चौकादाउ लागेको थियो । सायद फराँसमा एक्काको ट्रायल परेको थियो ।

घाम चर्कंदो थियो । उपस्थितहरूले ‘छिटो गर…’ भनेर लगातार हल्ला गरेपछि स्कुलका हेडमास्टर माइकमा बोले, ‘झा सर, तपाईं र अप्सराबारे सुनिएको सम्बन्धमा यथार्थ कुरा के हो ?’

झा सरले त्यतिका वर्ष लुकाइराखेको रहस्य खोल्दै अप्सरा र सन्ध्यालाई माया गर्नुको कारण खुलाए । गहभरि आँसु पार्दै सरले भने, ‘मेरा बा म सानु हुँदै बेपत्ता भए । आमालाई बोक्सीको आरोप लगाएर गाउँलेले लखेटे । सन्ध्याकै उमेरकी मेरी बहिनी थिई । खाली गोडा उसलाई पनि आमासँगै खेदे ।

त्यो कुकर्म गाउँकै मुखियाले गरेका थिए । अहिले अप्सरालाई मैले गरेको सहयोग त्यो बेला मेरी आमालाई मैले गर्न नसकेको सहयोग हो । सन्ध्यालाई गरेको माया त्यो बेपत्ता मेरी बहिनीलाई दिन नपाएको माया हो । यदि, यो मेरो व्यवहारलाई अनैतिक, अपराध नै मान्नुहुन्छ भने म यही प्रांगणमा सुली चढ्न तयार छु ।’

झा सरको कुराले सभा एकाएक स्तब्ध भयो । सबैको शिर भुइँतिर निहुरिएको थियो । निक्कै बेरको सन्नाटापछि भक्कानिँदै झा सर फेरि बोले, ‘यो सब प्रधान बा’ले अप्सराको परिवारप्रति गरेको अपराध ढाकछोप गर्न गरिएको प्रपञ्च हो । र, मसँगको रिसइबीको कारण पनि हो ।’

प्रधान बा’ले अप्सराको परिवारप्रति गरेको अपराध, गाउँमा गरेको भ्रष्टाचारलगायत अनैतिक कार्यहरूको फेहरिस्त सुनाइदिए झा सरले ।

सभाका बीच भागमा बसेका केही युवाहरू उठेर प्रधान बा’विरुद्ध चर्को नारा लगाउन थाले । प्रधान बा’का सहयोगीले ती युवामाथि आक्रमण गरेपछि सभा एकाएक रणभूमिमा परिणत हुन पुग्यो । आफ्नो चाहनाभन्दा ठिक उल्टो वातावरण भएपछि प्रधान बा लुसुक्क भाग्न खोजेका थिए ।

मञ्चमा उक्लिएका केही युवाले कठालोमा समातेर बीच चौरमा ल्याए ।

अप्सरा र झा सरलाई लगाउन उनैले ल्याएको त्यही जुत्ताको माला र कालोमोसो लगाइदिन भिडले झा सरलाई उचाल्यो । प्रधान बा’को अनुहारभरि त्यही मोसो दलिदिँदै भने, ‘प्रभु ! आगो आगोले कहिल्यै निभ्दैन । म पानी हुन चाहन्छु ।’

त्यही भिडले एकाएक अप्सरा र झा सरलाई बिहे गराइदिन सहमति खोज्यो ।

अप्सरा रनभुल्लमा परि । आधा रातमा अपरिचित स्वरले भनेको- ‘सम्मानविहीन जीवन के बाँचिराखेकी ? यो जीवन यहीँ सिध्याइदेऊ र नयाँ जीवन सुरु गर ।’ अप्सराको मथिंगलमा बारम्बार यो आइरह्यो । चिट्चिट् पसिना आयो । टेकिराखेको धर्ती भासिएजस्तो, आकासले गर्लम्मै थिचेजस्तो भयो । उनले चारैतिर अन्धकार देखिन् । थचक्कै भुईँमा बसिन् ।

निक्कैबेरपछि छेउमा उभिएकी छोरीलाई पिठ्युँमा बोक्दै अप्सराले सुस्तरी झा सरको हात समातिन् । स्तब्ध रहेको सभामा एकाएक गड्गडाहट ताली बज्यो । दाम्पत्य जीवनको शुभकामना दिनेको लर्को लाग्यो । बधाईको वर्षाले छोपियो ।