नेपालको संविधान जारी भएको आठ वर्ष बितेको छ । संविधानसभाबाट बनाइएको गणतन्त्रात्मक संघीयतासहितको व्यवस्थाले जनताको अपेक्षा बढाएको थियो । सामाजवादोन्मुख व्यवस्थाको आश्वासन आम नेपालीले पाएका थिए । जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत कुराहरु सुनिश्चित गरिएको हुन्छ भन्ने आम बुझाइ हो । त्यस दिशातर्फ नै राज्य उन्मुख हुन्छ भन्ने विश्वास लिइएको थियो । जनताले हरेक आन्दोलन र आग्रहलाई त्यही अर्थमा स्वीकार मात्र गरेनन् भरपुर सहयोग र समर्थन गरे । जनताको बलिदान र योगदानकै कारण सबै परिवर्तन सम्भव भएको हो । यसलाई अन्यथा भन्नु वा माननुपर्ने अवस्था छैन ।
जनअपेक्षा संविधानले सम्बोधन गर्ने होइन, यो त राज्य व्यवस्थाले दिने सेवा प्रवाहमा निर्भर गर्दछ । राज्य व्यवस्थाको चरित्रले आशा र विश्वास जगाउने वा भत्काउने का मगर्दछ । अविश्वास, आक्रोस र विद्रोह शासन व्यवस्थाले निम्त्याउने नभई शासकहरुको दम्भ, अहंकार, शैली, स्वरुप र चरित्रले विकास गर्दछ । जुन कुरा विश्वको राजनीतिक इतिहासले मात्र होइन नेपालको निकट विगतले पुुष्टि गरेको छ । यो आठ वर्षको मात्र होइन, त्योभन्दा अगाडिको अवस्था समेतको अध्ययन, अनुसन्धान र विश्लेषणले नेपालको राजनीतिक नेतृत्वप्रति पटक पटक प्रश्नचिह्न खडा गरेको छ । यो वा त्यो परिवर्तनमा एउटै अनुहार देखिनु अनौठो संयोग हो । चौतिस वर्षलाई फर्केर हेर्दा समस्या संविधानमा भन्दा शासकहरुमा थियो भन्ने स्पष्ट नै छ । तथापि मौका नपाएको होइन, जनताले पटक पटक सुध्रिने अवसर प्रदान गरेकै हुन् । उदारता देखाएकै हुन् । तर नेतृत्व सुध्रिएन, सचेत भएन । व्यवस्था मात्र परिवर्तन भयो, अवस्थामा फेरबदल आएन । समस्या केन्द्रित छलफल नै हुन सकेन । सत्ता र शक्ति केन्द्रित मानसिकता मात्र क्रियाशील भयो । जसले गर्दा ०४६, ०६२–०६३ र ०७२ लगायतका परिवर्तन, व्यवस्था र संविधान समेतले देशको मार्गचित्र बद्ल्न सकेन ।
संविधानकै व्यवस्थामाथि मजाक गर्नेहरुलाई के भन्ने ? आफ्ना लागि सामान्य नैतिकता र चरित्रको पनि ख्याल नगर्नेहरुबाट खै के अपेक्षा राख्ने, के शुभकामना दिने ?
आजका दिनमा हेरौं त, जताततै समस्या नै समस्या छ । अदालतमा (न्यायालय) समसया छ, विश्वविद्यालयमा समस्या छ, अस्पतालमा अस्तव्यवस्तता छ, विद्यालय चल्न नसक्ने देखिएको छ । विचौलियाको बिगबिगी छ । कर तिर्न जाँदा घन्टौं लाइन बस्नुपर्छ, यातायात व्यवस्था कार्यालयमा सुधार छैन, सेवा प्रवाहमा सुधार छैन । शासनशैली र चरित्रमा स्खलन मात्र देखिन्छ । परिवर्तनका सेवाहरु दल र नेता मानवतस्करी र सुन तस्करीमा संलग्न छन् । यस्ता किसिमका तस्करी र अनियमिततामा दलहरुको मुख्य नेतृत्व र उसको नजिकका आफन्त, नातेदार र विश्वास पात्रहरु संलग्न छन् । खरिद बिक्री र किनबेचको विषय बनेको छ– नीति निर्माण गर्ने थलो ।
सेवा प्रवाह गर्ने निकायमा पुग्ने व्यक्तिहरु नैतिक र चारित्रिक दृष्टिकोणले बद्नाम छन् । सबैभन्दा खराब व्यक्ति पहिलो रोजाइमा परेका छन् । ठेकेदार, डन र विचौलिया जतातै निर्णायक देखिन्छन् । उनीहरुको साँठगाँठ र योजनामा कार्यक्रम बनाइन्छ । अर्थ मन्त्रालयले बनाउने बजेटमा नै विचौलिया प्रवेश गरेर करको दरमा हेरफेर गर्छन् । न्यायालयमा भागवण्डा, लेनदेन र आफन्तहरुको जगजगी छ । न्याय सम्पादन गर्न सक्ने योग्य र सक्षम व्यक्ति रोजाइ र प्राथमिकतामा पर्दैनन् । दलीय भागवण्डाले विश्वविद्यालयहरु थलिएका छन् । भागवण्डा मिलाउन अतिरिक्त भारपर्ने गरी पदाधिकारी थप गरिएको पाइन्छ ।
मन्त्रालयहरुमा विचौलिया शक्तिशाली देखिन्छन् । विचौलिया प्रवेश निषेध लेखिन्छ तर, उनीहरुलाई विश्वास दिलाएर मात्र कार्यक्रम बन्छ, साँझ, बिहान मन्त्री सचिवहरु बिचौलियासँगै हुन्छन् । यस्तै किसिमले चलेको शासन व्यवस्था कलिला भविष्यका कर्णधारहरुले आफ्नो गन्तव्य विदेश बनाएका छन् । लाखौं विद्यार्थी विदेशिएका छन् । नेपालमा भविष्य सुरक्षित छैन भन्ने सन्देश दिएका छन् । नेता र कर्मचारी कै छोराछोरी विदेशमा भविष्य खोज्दै छन् । आफ्ना नानीबाबुलाई विदेश पठाएर देशलाई समृद्ध बनाउने नीति र कार्यक्रम बनाउँदै छ– यहाँको राजनीतिक र प्रशासनिक नेतृत्व ।
कसैको मृत्युपछि महान् भन्न रुचाउनेहरुले धेरै पटक देखेका छन्– लाशले छोराछोरी कुरेको । बाग्लुङ लगायतका जिल्लाहरुमा त विदेश गएका छोराछोरीले आफ्ना बा–आमाको लाश सुरक्षित राख्न सकिने विद्युतीय मेसिन किनेर पठाएका छन् वा व्यवस्था मिलाएका छन् । यस्तो समाज निर्माण हुँदै गएको सन्दर्भमा पछिल्लो संविधानले आठ वर्ष पूरा गरेको छ । कसलाई कस्तो शुभकामना र बधाइ दिने ? के के भयो र गरिने यस बीचमा ? संघीय कानुनहरुसम्म नबनेर प्रादेशिक र स्थानीय सरकार अन्यौलग्रस्त छ कति समस्या आइरहेका छन्, अधिकार भएन भन्ने आवाज उठेको छ । बिहान बेलुका नेताको घर आगन धाउनेहरुले यस्तो प्रश्न सोध्न सक्छन्– खासमा तपाईंहरुले के गर्नुभएको छ र तपाईंहरुलाई स्वीकार गर्नु र सम्झनु ?
हामीले हाम्रो नेतृत्वले आजसम्म समस्या केन्द्रित छलफल नै चलाउन सकेन । समस्यामा कसैको ध्यान नै छैन । सत्ता र शक्ति आर्जन गर्ने, शक्तिको आडमा सान देखाउने, अकूत कमाउने, तस्करी गर्ने, ठगठाग र लुटपाट मच्चाउने मात्र अर्को राम्रो काम नै नभइ दिन प्रतिदिन बद्नाम, कमजोर र असफलतातर्फ उन्मुख देशको नागरिकले संविधान दिवसको के र कस्तो शुभकामना दिने ? संविधानकै व्यवस्थामाथि मजाक गर्नेहरुलाई के भन्ने ? आफ्ना लागि सामान्य नैतिकता र चरित्रको पनि ख्याल नगर्नेहरुबाट खै के अपेक्षा राख्ने, के शुभकामना दिने ?
प्रतिक्रिया