महात्मा गान्धीको सत्याग्रह आजपनि विश्व प्रसिद्ध छ । गान्धीको अहिंसात्मक (non violence movement)आन्दोलनले नै ब्रिटिश साम्राज्यलाई घुँडा टेकाएको थियो । एउटा सुख्खा रोटी, उमालिएको चुकन्दर, हरियो तरकारी र निमपत्ताको लेदो खाने मान्छेले संसारलाई अहिंसाको शिक्षा दिएको थियो । संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेकै साल सन् १९४८ मा गान्धीको हत्या भएको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र न्याय र शान्तिको जगमा खडा भएको हो । अहिंसा, शान्ति र सहअस्तित्वको दियो बालेर मानवताको पाठ सिकाउने गान्धीको स्मरणमा हरेक वर्ष संसारले २१ सेप्टेम्बरमा विश्व शान्ति दिवस मनाउने गरेको छ । गान्धीको हत्यापछि श्रद्धान्जली व्यक्त गर्ने क्रममा अलबर्ट आईन्सटाइनले भनेका थिए, “हुन सक्छ भावी पिंढीहरूले यस कुरामा विश्वास नगरून् , कुनै समयमा हाड-मासुको यस्तो मानिस पनि पृथ्वीमा विचरण गर्थ्यो ।”
गान्धीले भविष्यवाणीका रूपमा व्यक्त गरेका विचारहरूले आज सार्थक रूप लिंदैछ । गान्धीले भन्नुभएको थियो, “अहिंसा जनताका बीच आईसकेको छ र यो सधैं रहिरहनेछ । यो विश्व शान्तिको अग्रदूत हो ।” गान्धी क्षमाशील हुनुहुन्थ्यो र त भन्नुहुन्थ्यो, “म एउटा मानिस हुँ र अरू मानिसझैं गल्ती गर्न सक्छु । तैपनि म यो मान्छु कि ममा यति नम्रता छ कि म आफ्नो भूल स्वीकार गर्न आफ्ना गोडा पछि सार्न सक्छु । ममा ईश्वरप्रतिको अटल विश्वास छ, सत्य र प्रेमका लागि कहिल्यै पनि नरित्तिने भाव निहित छ ।” के हामी आफूले गरेका गल्तीको प्रायश्चित गर्दै अरूलाई क्षमादान दिन तयार छौं ? दया, प्रेम, करूणा र क्षमाशीलता नै मानवताको उच्चतम विन्दु हो । मानवताको त्यही उच्चतम विन्दुलाई महात्मा गान्धीले आफ्नो मूलमंत्र बनाएका थिए ।
आज संसारका लाखौं संभवत: करोडौं मानिस गान्धीको आत्मकथाबाट प्रभावित छन् । त्यसैले संसारमा शान्ति र अहिंसाको कुरा निस्कदा बुद्ध र गान्धीको करीब-करीब एकसाथ सम्झना गरिन्छ । गान्धीले आफ्नो जीवनीमा लेख्नुभएको छ, “म आफूलाई राष्ट्रवादी भन्छु तर मेरो राष्ट्रवाद त्यतिनै विशाल छ जति यो विश्व । यस अन्तर्गत सारा संसार पर्दछ । मेरो राष्ट्रवादमा विश्वको कल्याण निहित छ । म आफ्नो भारतलाई अरू देशको चिहानमाथि खडा गर्न चाहन्न । म चाहन्न कि भारतले एकजनाको पनि शोषण गरोस् ।” सत्तासीन भारतीयहरूको छिमेकी राष्ट्रप्रति गर्ने वर्तमानका व्यवहारहरूले यदाकदा शंका उत्पन्न हुन्छ । के यिनीहरू तिनै गान्धीका देशका मान्छे हुन त ? गान्धी चाहन्थे भारतले कुनै पनि देशको शोषण नगरोस् तर भारतबाट ब्रिटिश साम्राज्यको अन्त्य भएको वर्षौं बितिसक्दा पनि कतिपय भारतीयहरूमा साम्राज्यवादका अवशेषहरू जरा गाडेर बसेको भेटिन्छ । त्यसैले नेपाल लगायतका दक्षिण एशियाली राष्ट्रहरू भारतको “डबल” स्टान्डर्ड नीतिले दुःख झेलिरहेका छन् ।
नेपालमा देखापरेका वर्तमानका भ्रष्टाचारका श्रृंखलाबद्ध घटनाक्रमले जनताहरूमा राजनीति र शासकीय प्रणालीप्रति नै वितृष्णा बढ्न थालेको छ । जुन राम्रो लक्षण होईन । यस्तैमा हो अतिवादले टाउको उठाउने वा नयाँ-नयाँ तानाशाहहरूको उदय हुने ।
गान्धी पेशाले वकिल थिए । बेलायतमा बसेर कानून पढेका गान्धीले दक्षिण अफ्रिकामा गएर लामो समय वकालत गरे । गान्धीले त्यहाँ काला र गोराको विभेद देखे र आफैंले भोगे पनि । मान्छे-मान्छे बीचको यस प्रकारको रंगभेदले गान्धीलाई विद्रोही बनायो । अंग्रेजहरूविरूद्ध अहिंसात्मक आन्दोलन आफ्नै देशबाट शुरू गर्ने अठोटका साथ गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्के र ब्रिटिश उपनिवेशबाट भारतलाई स्वतन्त्र बनाउने अभियानमा लागे । गान्धीको स्वदेशी वस्तु प्रयोग गरौं भन्ने नारा र चर्खा अभियानले स्वदेशी उत्पादनलाई टेवा पुर्यायो। अन्ततः अंग्रेजविरुद्ध “भारत छोडो“ गान्धीको अभियान सफल भयो, भारत स्वतन्त्र भयो ।
महात्मा गान्धीको स्मरण गरिरहँदा यहाँ गान्धीकी पत्नी कस्तुरबालाई बिर्सन किमार्थ मिल्दैन जसले गान्धीका हरेक कदममा साथ दिएर भारतलाई स्वतन्त्र भारत बनाउने गान्धीको अभियानमा हातेमालो गरिन् । गान्धीलाई श्रद्धान्जली प्रकट गर्दै उनले भनेकी थिइन्, “तपाईंकी जीवनसाथी र सहधर्मिणी हुने जुन सौभाग्य मलाई प्राप्त भएको छ त्यसका लागि तपाईंलाई धन्यवाद छ। म कृतज्ञ छु कि तपाईं घुसभन्दा ईश्वर र देशलाई प्रमुखता दिनुहुन्छ, तपाईंलाई आफ्ना मान्यताहरूमाथि साहस र ईश्वरमाथि अटुट भरोसा छ । म कति भाग्यमानी छु जसको पतिले ईश्वर र देशलाई मलाई भन्दा बढी मान्यता दिन्छ । म तपाईंप्रति आभारी छु किनभने तपाईं मेरो युवावस्थाका कमीहरूका लागि सहनशील हुनुभयो ।” गान्धीका बारे उनकी पत्नीको यो मार्मिक उदगार पढिरहँदा नेपाल र दक्षिण एशियाली देशका नेताहरूमा दिनप्रतिदिन देखापरेको आर्थिक विचलनका घटनाले सबैलाई स्तब्ध तुल्याएको छ । नेपालमा देखापरेका वर्तमानका भ्रष्टाचारका श्रृंखलाबद्ध घटनाक्रमले जनताहरूमा राजनीति र शासकीय प्रणालीप्रति नै वितृष्णा बढ्न थालेको छ । जुन राम्रो लक्षण होईन । यस्तैमा हो अतिवादले टाउको उठाउने वा नयाँ-नयाँ तानाशाहहरूको उदय हुने ।
अन्तरराष्ट्रीय शान्ति दिवसमा गान्धीलाई स्मरण गरिरहँदा यो वा त्यो नाममा प्रक्षेपण हुने कुनै पनि प्रकारको तानाशाही प्रवृति वा तानाशाह स्वीकार्य नहुने कुरालाई आत्मसाथ गर्दै नेपाली नेताहरू समय छॅंदै निन्द्राबाट ब्युँझने हो कि ? होईन भने तयार भए हुन्छ नयाँ जनसमरको आँधीको सामना गर्न । त्यतिबेला को कहाँ पुग्छ यसै भन्न सकिंदैन ।
प्रतिक्रिया