पद्मश्री साहित्य पुरस्कार आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई

पद्मश्री साहित्य पुरस्कार आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई


ग्लोब नेपाल
351
Shares

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारआख्यानकार डा. देवीप्रसाद सुवेदीलाई, पद्मश्री साधना सम्मान काटुनिष्ट दुर्गा बराल (वात्स्यायन) र पद्मश्री गौरव पुरस्कार शिक्षाविद् सुरेशराज शर्मालाई प्रदान गर्ने निर्णय भएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार वि.सं. २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनु लाई अर्पण गर्ने निर्णय गरिएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ । प्राप्त १८० पुस्तकमध्येबाट छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक भएको थियो ।

यसैगरी पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई प्रदान गर्ने निर्णय भएको छ । वात्स्यान नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएका छन् । नेपाली चित्रकलामा पनि उनको योगदान विशिष्ट रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिएका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी तीन लाख रुपैयाँ रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैँ कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।