अस्ताए ओखलढुंगा कांग्रेसका डिल्ली ‘काका’

अस्ताए ओखलढुंगा कांग्रेसका डिल्ली ‘काका’



काठमाडौं । नेपाली कांग्रेस नेता, जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको शनिबार राति निधन भयो । अर्बुद रोगबाट पीडित ७२ वर्षीय खनालको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा निधन भएको हो ।

स्वर्गीय खनाल दुई वर्ष अगाडिदेखि नै ‘प्याङ्क्रियाटिक क्यान्सर’बाट पीडित थिए । त्यतिबेला उनको भारतको ‘राजिब गान्धी क्यान्सर इन्टिच्युट एण्ड रिसर्च सेन्टर, नयाँदिल्ली’मा उपचार भई रोग जितेर नेपाल फर्किएका थिए । दुई हप्ता अगाडि अचानक बिरामी परेपछि उनलाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो ।

उनको पार्थिव शरिर आइतबार बिहान पशुपति आर्यघाटमा बैदिक परम्परा अनुसार अन्त्यष्टि गरिएको छ । नेपाली कांग्रेसका उपसभापति एवम् कानून मन्त्री धनराज गुरुङ, सांसद, कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री शशांक कोइराला, कांग्रेस केन्द्रीय सदस्य एवम् परराष्ट मन्त्री एनपी साउद, सांसद एवम् केन्द्रीय सदस्य कान्छाराम लामा, केन्द्रीय सदस्य बलबहादुर केसीलगायतले नेपाली कांग्रेस पार्टीको झण्डा ओढाएर अन्तिम विदाइ गरे । आर्यघाटमा अन्तिम श्रद्धान्जलीका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ता एवम् शुभचिन्तकको बाक्लो उपस्थिति देखिन्थ्यो ।

ओखलढुंगामा साइनोले ‘काका’ उपनामले डिल्ली खनाल परिचित थिए । यो उपनामको संयोग पनि निक्कै रोचक छ । उनी बलबहादुर राई र गोपाल राईबाट प्रशिक्षित कांग्रेसका इमान्दार ‘क्याडर’ थिए । ओखलढुंगा कांग्रेसमा बलबहादुरलाई सबैले अभिभावकका रुपमा मानेका थिए । तिनै अभिभावकले डिल्ली भाइ भनेर सम्बोधन गर्थे । अभिभावकले भाइ भनेपछि डिल्लीलाई सबैले काका भन्न थाले । ओलढुंगामा उनी विस्तारै डिल्ली काकाका रुपमा उनी परिचित भए ।

०४६ सालको जनआन्दोलनमा ओखलढुंगाबाट जनसागर उरालेर काठमाडौं उतार्न डिल्ली काकाले खेलेको भूमिका सम्झनलायक छ । त्यो जनसागरलाई काठमाडौं उतारेर मात्र भएन, उनीहरुको खानपिन र बसोबासको व्यवस्थामा उनको सक्रियता त्यत्तिकै महत्वपूर्ण थियो । यतिमा मात्रै उनको योगदान सीमित रहेन । ०४६ पछि ओलढुंगाबाट काठमाडौं आउने विरामी, रोजगारीको खोजीमा काठमाडौं भित्रिने र उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीको व्यवस्थापनमा उनले खेलेको भूमिका अतुलनीय छ । विरामीलाई अस्पताल भर्ना, रोजगारीका लागि भनसुन र बेखर्ची विद्यार्थीलाई क्याम्पस भर्ना, बासको व्यवस्था र पकेट खर्चसमेत उनले दिने गर्दथे । तर, अहिले प्रतिष्ठित व्यक्तिहरु हिजो उनीबाट प्राप्त सहयोग बिर्सन चाहन्छन् ।

ओखलढुंगेली कांग्रेस इतिहासमा डिल्लीकाकाको योगदान सम्झनेहरु धेरै होलान् । तर, उनले पार्टी र कार्यकर्तामा जति गुण लगाएका छन्, त्यसमा उनको कुनै व्यक्तिगत स्वार्थ देखिँदैन । आजीवन पार्टीमा खर्चिएका डिल्लीकाकाले अन्तिममा जिल्ला समन्वयको प्रमुख बाहेक लाभको पद लिएनन् । लोकतन्त्र र कांग्रेसको आदर्शबाहेक उनीमा कुनै स्वार्थ देखिँदैन ।

को हुन् डिल्ली ‘काका’
नामः डिल्लीराम खनाल

जन्म मितिः २००७-०६-२० (१५ नोभेम्बर, १९५०)

जन्म स्थानः ओखलढुंगा जिल्ला, साबिक अँधेरी नारायणस्थान–४, हाल सिद्धिचरण न.पा. वडा नं. ३, असिने

शैक्षिक योग्यताः स्नातक (त्रिचन्द्र कलेज घण्टाघर, काठमाडौ)

राजनीतिक संलग्नताः
– बि. सं. २०२७ सालमा सहिद लिलानाथ दाहालको निर्देशनमा ओखलढुंगाका बलखु, सिस्नेरी र पलापुका गाउँहरुमा तानाशाही पञ्चायती व्यवस्थाको बिरुद्धमा पर्चा बाडेको अभियोगमा बलखुमा कार्यरत अस्थाई शिक्षकबाट अबकास पाएको ।

– बि. सं. २०२८ सालमा भरतपुर चितवनमा भएको ने.वि. संघको दोस्रो केन्द्रिय महाधिवेशनमा केन्द्रिय प्रतिनिधि भई भाग लिएको ।

– बि. सं. २०३१ सालदेखि २०३३ सालसम्म त्रिचन्द्र कलेजमा ने.वि. संघको सक्रिय कार्यकर्ता भै कार्य गरेको ।

– बि. सं. २०३६ सालमा निजामती कर्मचारीको रूपमा काम गरिरहेको अवस्थामा बि. सं. २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा लागेर नेपाली कांग्रेसका नेताहरुलाई सरसहयोग गरेको अभियोगमा तत्कालीन सरकारले नोकरीबाट निस्कासन गरेको ।

– बि. सं. २०४२ सालको सत्याग्रहमा सक्रिय सहभागी रहेको ।

– बि. सं. २०४६-४७ सालको जनआन्दोलनमा पटक पटक गिरफ्तारीमा परेको ।

– बि. सं. २०५० सालदेखि २०५९ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगाको कोषाध्यक्ष भई काम गरेको ।

– बि. सं. २०६० सालदेखि २०६८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगाको उपसभापति भई काम गरेको ।

– बि. सं. २०६२-६३ को जनआन्दोलनमा ओखलढुंगाको काठमाडौं केन्द्रित आन्दोलनको अध्यक्ष भई काम गरेको । नेपाली कांग्रेसको नवौं महाधिवेशनदेखि तेह्रौं महाधिवेशनसम्म लगातार महाधिवेशन प्रतिनिधि भई काम गरिरहेको ।

– नेपाली कांग्रेसको बाह्रौं र तेह्रौं महाधिवेशनसम्म महासमिति सदस्य भै भई काम गरिरहेको ।

– २०७४ सालको स्थानीय निर्वाचनमा सिद्धिचरण नगरपालिका ओखलढुंगाको मेयर पदको उम्मेदवार भई निर्वाचनमा भाग लिई झिनो मतले पराजित भएको ।

– प्रतिबन्धित अवस्थादेखि हालसम्म नेपाली कांग्रेस ओखलढुंगाको पार्टी संगठन विस्तारमा सक्रिय भई पार्टी एवं पार्टीका धेरै साथीहरुलाई आर्थिक सहयोग गरेको ।

– नेपाली कांग्रेसको राजनीतिमा लामो समय निरन्तर सक्रिय रहेर कार्य गरेको तर अन्तिममा जिल्ला समन्वयको प्रमुख बाहेक अरु कुनै पनि लाभको पदमा नरहेको ।