अमेरिकामा देखेको भजन कीर्तन

अमेरिकामा देखेको भजन कीर्तन



स–साना बालबालिकाहरु सुन्दर हलमा लामबद्ध थिए । चुपचाप थिए । कति सरल सौम्य र शालिन नानीहरु । अमेरिकामा जन्मे हुर्के पढेका स्मार्ट नानीहरु । तर सबैजना सतर्क (एटेन्सन) पोजिसनमा । मलिन मुहार । जिज्ञाशु आँखा । नयाँ कुरा सिक्ने कौतुहलता ।

उनीहरुको सुन्दर शान्त उपस्थिति हेर्दा मलाई लाग्यो ती अनुशासित र आज्ञाकारी सैनिक हुन् । अथवा, तालिम प्राप्त स्काउटहरु । किनभने त्यति धेरै अनुशासित थिए ती नानीहरु ।

अगाडि मञ्चमा हामीलाई नानीहरुले खादाले स्वागत गरे । हामी अगाडि आसिन थियौं । हाम्रो पछाडि तिनका प्यारा अभिभावकहरु खडा थिए । हलको दायाँ बायाँ तिनका साथीहरु थिए ।

तर लामबद्ध मुर्तीजस्ता ती नानीहरु हामीलाई हेरिरहेका थिएनन् । आफ्ना मातापिता परिवारजनलाई पनि खोजिरहेका थिएनन् । साथीहरुको वास्ता पनि गरिरहेका थिएनन् । केवल एक टक उनीहरु आफ्नो सिधा अगाडि हेरिरहेका थिए । अत्यन्त अनुशासित सिपाहीहरुको लाम जस्तै ।

एक्कासी उनीहरु लय हालेर बर्बराए । कति राम्रो लय …..
ॐ भूर्भुवः स्वः
तत्स बितुर्वरण्यं भर्गाे
देवस्यु धीमहि
धियो यो नः प्रचोदयात् ।।

उनीहरुलाई संगीतले अनुशासन, शीष्टता सरलता, शालीनता, सौहाद्रता, हार्दिकता, सहनशीलता, धैर्यता जस्ता सभ्य गुणहरु भरिसकेको रहेछ । भविष्यमा अनिवार्य चाहिने यी नेतृत्व गुणहरु बाल्यकालमै ग्रहण र अुनशरण गरेर अनुशासित र पाका देखिएका थिए ती नानीहरु । संगीतको शक्ति देखेर मलाई ताजुब लाग्यो । सैनिक शक्ति भन्दा ठूलो शक्ति रहेछ संगीत । किनभने उनीहरु हाम्र्रोनियमको ताल पछ्याईरहेका थिए । तालमै राग तानिरहेका थिए । एउटा तालमा आँखा चिम्लेर राग तान्दथे । अर्को तालमा आँखा खोल्दथे । अर्को तालमा मुस्कराउँदथे । अर्को तालमा ठप्प राग रोकेर चुपचाप लाग्दथे । हलमा सन्नटा छाउने सुनसान सिर्जना गर्ने सर्जकहरु ।

ती बाल सर्जकका कमाण्डर थिए मुस्कान मगर । संगीतमा अमेरिकाबाटै उच्च शिक्षा हासिल गरेका मुस्कान आफैं उच्च शिक्षा, ज्ञान, अनुभव, शीष्टता, नम्रता र महानताले नुहिरहेका थिए । बाल सर्जकलाई कमाण्ड थियो हार्मोनियमको ताल ।

अत्यन्त अनुशासित र लयबद्ध त्यो मीठो भजन कीर्तनलाई हामीले जोडदार ताली पड्काएर कदर ग¥यौं । लामबद्ध नानीहरुले झुकेर नमस्ते अभिबादन गरे ।

फेरि नानीहरु चुपचाप मुर्तिझै लामबद्ध रहिरहे । जब मुस्कानको हात उठ्यो र फैलियो, नानीहरु बडो उत्साहित भएर गाउन थाले–

कालीपारे दाई कति राम्रो
ढाकाटोपी काँधैमा गलबन्दी ….
कालीपारे …..

त्यसपछि हार्मोनियमको मीठो तालमा मीठो लय हालेर नानीहरुले यो गीत पूरै गाए ।

अमेरिकास्थित पेन्सिलभेनियाको ह्यारिसवर्गमा यो दृश्य हेरिरहदा मेरा आँखाबाट आँसुका धारा बगे । म भावबिह्वल भएँ । मेरो मनभरि जिज्ञाशाले अड्डा जमाए –

अमेरिकामा जन्मेका नेपाली नानीहरु ।
अंग्रेजी बोल्न पढ्न माहिर नानीहरु ।
होमवर्कको भारीले थिचेका ब्यस्त बाल बिद्यार्थीहरु ।

अतिरिक्त समय निकालेर संगीतको कक्षामा स्वस्फूर्त ठूलो उत्साहका साथ सामेल छन् ।

स्कूलको थकाई र डिनर समय नभनेर साँझको समय संगीत कक्षालाई छुट्याएका छन् ।
पुर्खाको भाषा, साहित्य, संस्कृति सिक्न जुर्मुराएका छन् । तम्तयार छन् ।

मातापितालाई साथमा लिएर कक्षामा हाजिर छन् ।

भाषा सिकिछाड्ने दृढ संकल्प बोकेका छन् ।

मातापिताको हात साथ र प्रेरणा पाएका छन् ।

मुस्कान गुरुको न्यानो माया, उत्प्रेरणा, प्रशिक्षण र त्यागले ती नतमस्तक छन् । ऋणी छन् ।

यही भाषा साहित्य संस्कृति नेपालमा बत्ती बालेर खोज्नुपर्ने भएको छ ।

सेनामा अधिकृत हुन आउने कतिपय उम्मेदवार नेपाली बोल्न लेख्न सक्तैनन् ।

तर अमेरिकामा जन्मे हुर्केका नेपाली मूलका नानीहरुको त्यत्रो लगनशीलता, धैर्यता र गहिरो जिज्ञाशा ! भाषा सिकिछाड्ने प्रतिबद्धता !

हार्मोनियमले बिदाई दियो ती साना नानीहरुलाई । तर ती तित्तर–बित्तर भएनन् । भद्रगोलसँग गएनन् ।
हार्मोनियमको तालमा पहिलो पंक्ति बायाँ फर्कियो । तातीमा मार्च गरेर अगाडि बढ्यो । त्यसलाई दोश्रो, तेश्रो, चौथो पंक्तिले पछ्याउदै गए । उनीहरु हलको एक छेउ पूर्व निर्धारित स्थानमा गएर लामबद्ध बसे ।

त्यो सैनिक ड्रिल जस्तै राम्रो अनुशासित र मर्यादित परेड् बराबर थियो ।

त्यसपछि उनीहरुका दिदीहरुको पालो आयो । सायद ती ग्रेड ७–८ का बालिकाहरु थिए । उनीहरु नेपाली सारी, चौबन्दी चोलो, पोते, ढुँग्री, अन्ती बुलाकी, नाकमा फुली लगाएर सजिएका थिए ।

निधारमा रातो टीका लगाएर चिटिक्क परेका थिए । आफैले स्वईच्छामा खरिद गरेको पोशाक पहिरन । अमेरिकामा पढ्ने चेलीहरुको त्यो भेषभुषा देखेर फेरि मेरा आँखा रसाए । जिज्ञाशाहरु थपिए–

नेपाली भेषभुषाको कत्रो माया र सम्मान ?

कति जतन र संभार ?

पहिरनमा कति हर्ष र गर्व ?

उनीहरु मुस्कानको संगीत, पार्वती र शंकरको निर्देशनमा नेपाली मौलिक गीतहरुमा छमछमी घुमीघुमी नाचे ।
ऐना जडित सुन्दर हलमा उनीहरु ऐनासँग हाम्रो नेपाल–हामी नेपाली गीतमा नाचिरहेका थिए । ऐनालाई अंकमाल गरिरहेका थिए । ऐनासँग मुस्कुराई रहेका थिए ।

एउटा कुनाबाट मुस्कानले हार्मोनियमको तालमा लाइभ् संगीत भरिरहेका थिए ।

अर्को कुनाबाट पार्वती र शंकरले नृत्य निर्देशन गरिरहेका थिए ।

पछाडिबाट अभिभावकहरुले तालीले साथ दिइरहेका थिए । हलको छेउमा दुधे बालकहरु आमाका काखैमा नाचिरहेका थिए । म खादा ओढेर भावविह्वल हुँदा नेपाल मै छु भनेर टोलाई रहेको थिए ।

त्यसपछि पालो आयो बाद्यबाधन संगीतमा गीत गाउने आमा समूहको ।

उनीहरुले राग तान्न घाँटी सफा गरे । सा रे ग म प द नि स को संगीतमा स्वर तिखारे । र, बबाल शास्त्रीय गायनको कला प्रतिभा देखाए ।

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो……

महाकवी लक्ष्मीप्रसाद देवकोटाको यो गीत राग तानेर गाउँदा मलाई एकीन भयो–
नेपाली भाषा साहित्य र संस्कृतिको रक्षा कल्याण सम्मान अमेरिकामा जोडदारसँग भइरहेको रहेछ ।

मेरो शुभकामना दिने पालो आयो । मैले भने–
‘नेपालमा देख्न नपाएको गीत संगीत नृत्य कला संस्कृति मैले अमेरिकामा देख्न पाएँ ।

कही नभएको अतिथि देवो भवः संस्कार, शीष्टता, सौहाद्रता र अनुशासन यहाँ देख्न पाएँ ।

प्यारा भाइ–बैनीहरुको साँस्कृतिक यात्रा सफल होस् ।

भाषा साहित्य संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्नुभएका अभिभावकजनमा सादर नमन र सलाम ।

साँस्कृतिक कार्यक्रमका प्रशिक्षकहरुको मिहेनत र त्यागलाई पनि नमन र सलाम ।

यहाँ प्रशिक्षित आजका बालबालिकाहरु भोलि मेरो भोइस् अमेरिका र मेरो डान्स अमेरिका हुँदै मेरो भोईस र मेरो डान्स युनिभर्समा प्रतिश्पर्धा गर्न पुगून । पुर्खाको थात्थलो नेपालमा आएर विजयको माला लगाउन् ।
सुन्दर निकुञ्ज भ्रमण गरेर बाघ गैंडासँग माया साटासाट गरुन् । र, विश्व सम्पदा सगरमाथा र लुम्बिनीलाई परिक्रमा लगाएर मातृभूमि नेपालसँग मुटु साटासाट् गरुन् ।

यो ह्यारिसवर्ग र अमेरिकाका धेरै सहरहरुमा भाषा, साहित्य, संस्कृतिका यस्ता कक्षाहरु निःशुल्क सञ्चालन गरेर विश्वभरिका नेपालीहरुलाई एउटै साँस्कृतिक मालामा उन्ने इन्ट्रा फाउण्डेसनको पवित्र परिकल्पना र प्रतिवद्धतालाई झन धेरै धेरै नमन र सलाम ।’

अमेरिकामा जागिरहेको चम्किरहेको साँस्कृतिक महाअभियानलाई प्रत्यक्ष आँखाले देखेको भाग्यमानी साक्षी म ती सुन्दर बालबालिकालाई आँखामा राखेर मातृभूमिस्थित मातापिताको शरणमा हाजिर भएँ ।