बडादशैंको शुभकामना

बडादशैंको शुभकामना


ग्लोब नेपाल
270
Shares

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा

हामी यतिखेर सम्पूर्ण नेपालीहरुको महान पर्व दशैं धुमधामका साथ मनाइरहेका छौं । यो पर्व सबै नेपालीलाई जोड्ने एक साझा सांस्कृतिक पर्व हो । नेपाल आफैंमा बहुजाति,बहुभाषी र बहुसांस्कृतिक अर्थात् विविधतामा एकता भएको तपोभूमि हो । सबै पर्वको महत्व उत्तिकै छ । त्यो भन्दा माथि हामी दशैंलाई साझा पर्वको रुपमा परापूर्वकालदेखि नै मनाउँदै आइरहेका छौं ।
दशैं असत्यमाथि सत्यको विजय,आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका प्रतीकका रुपमा हामी मनाउँछौं । शरद ऋतुको यो पर्व आफैंमा हर्ष र उल्लासको पर्व पनि हो । सफा आकाश, राम्रो मौसम, खेतहरूमा लहलह झुलिरहेका धानका बाला, अनि कोदो फुल्दै गरेका बारीहरु, आहा ! दशैं । लिङ्गे र रोटे पिङको चचहुई, विभिन्न शक्तिपीठको दर्शन, पुजाआजा, आफूभन्दा ठूला मान्यजनबाट टीका आशिर्वाद ग्रहणसहित निधारभरिको रातो टीका र जमरा, मीठा परिकार,पारिवारिक पुनर्मिलन र नयाँ कपडा,घर वरिपरि फुल्दै गरेका मखमली र सयपत्रीका रंगीविरंगी फूल,आहा ! यति मात्र सम्झंदा पनि दशैंले हामीलाई उत्साहित र उल्लासित बनाउँछ ।

दशैं सारा नेपालीलाई एकताको मालामा उन्ने हर्षोल्लासको पर्व हो । आपसी वैमनस्यता,रीस,राग र विमति सबै भुलेर हामी दुर्गा भवानीको आशिर्वाद लिन यो चाड मनाई रहेका छौं । यो चाड न्यायको चाड हो। सुख,खुशी र उमंग साटासाट गर्ने चाड हो । पारिवारिक र सामाजिक पुनर्मिलनको चाड हो । अहिले सर्वत्र मालश्रीका मङ्गलधुन बजेका छन् । गाउँघर सुवासित छन्। शहरबाट गाउँ फर्केर दशैं मनाउनेहरु रमाई रहेका छन् । मुलुकभित्र सबैभन्दा बढी आर्थिक कारोबार पनि यही चाडमा हुने गर्दछ। आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा यो पर्व सबैभन्दा माथि छ । यो पर्व एकताको प्रतीक पनि हो ।

दशैंका नौ दिन जसलाई नवरात्रका नौ दिन समेत भनिन्छ, विभिन्न शक्तिपीठको पूजा आराधना गरी अन्तिम दिन विजयको प्रतीक विजयादशमी मनाएर टीका लगाइन्छ । पौराणिक कथा अनुसार संसारको विनाश गर्न खोज्ने महिषासुर नामक राक्षसलाई दुर्गा माताले मारेको अनि अहङ्कारी, अन्यायी, अत्याचारी रावणमाथि रामले विजय गरेको स्मरणमा बडादशैं मनाइने गरिएको छ । दुर्गा माताका नौ स्वरूप योग साधना, वैराग्य, संयम र सदाचार, हाँसो, चैतन्य, धर्म, अर्थ, काम र मोक्ष, सिद्धि, कलुषिताको अन्त्य आदि सम्बन्धित मानिन्छ । संसार मास्न खोज्ने महिषासुर राक्षसलाई मारेर मानव सृष्टि संरक्षण गर्न सक्ने शक्तिपुञ्जस्वरूप नारीशक्ति हुन् दुर्गा ।

दशैंको धार्मिक र ऐतिहासिक पक्षसँगै बहुआयामिक महत्त्व छ । नेपाली जहाँ पुगेका छन् त्यहाँ दशैं पुगेको छ । उमंग र खुशी पुगेको छ। यो दशैं पर्वको व्यापकता हो ।

दशैं सबै नेपालीमन र नेपालीजनलाई जोड्ने पवित्र चाड हो । यो चाडले आपसी द्वेषको अन्त गरी खुशीयाली बाँड्न सक्ने शक्ति प्राप्त होस्। अभाव, गरीबी र दु:ख सबै बिर्सिएर हर्षोल्लासका साथ मनाइने यो पर्वले सम्पूर्ण नेपालीहरुको समृद्धिको ढोका खोल्न सकोस् । सुख,शान्ति र सम्मृद्धिका लागि सबैलाई हार्दिक मंगलमय शुभकामना ।

जता जाउ उतै भन्छन दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ।