विजयादशमीको आज चौथो दिन, टिका थाप्ने क्रम जारी,उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

विजयादशमीको आज चौथो दिन, टिका थाप्ने क्रम जारी,उपत्यका फर्कनेको भीड बढ्न थाल्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । विजयादशमीको आज चौथो दिन मान्यजनहरुबाट टिका थाप्ने क्रम पनि जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ । विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन् ।

विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र हरियो पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ। घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने परम्परा रहेको छ।

दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।

नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

यसवर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।