रमाइलो दशैं पुष्पा र अञ्जलीसँग

रमाइलो दशैं पुष्पा र अञ्जलीसँग



नवलपरासीको नवलपुर र कुजौली ईलाकाबाट ४ र ३ बर्ष अगाडि क्रमशः आमा बिनाको अनाथ दुधे गैंडा वालिकाहरुको सफल उद्धार भएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको जैबिक बिबिधता केन्द्र सौराहा ती वालिकाहरुको आमा र अभिभावक भयो । कोषको न्यानो माया र हेरचाहमा पुष्पा र अञ्जली हुर्किए । हृष्टपुष्ट स्वस्थ भए । १ देखि २ बर्षमा उनीहरु बयस्क हुने, बैंस आउने र समागमको लागि तयारी हुने भएकोले विशेष सिफारिस र निगरानीमा २०८० बैशाख ३१ गते निकुञ्जको सुरक्षित र गैंडाको उत्तम वासस्थान लामी तालमा लगेर छाडिए । प्राकृतिक वासस्थानमा प्राकृतिक जीवन जिउन् भन्ने पवित्र अभिप्रायले छाडिएको भएतापनि पुष्पा र अञ्जलीले मानिस गाउँ बस्ती कै सामिप्यता रोजे ।

उनीहरु लामिताल नजिक घटगाईमा अवस्थित नेपाली सेनाको सुरक्षा पोष्टमा आश्रय लिन आईपुगे । केही दिनको घुलमिल र सम्बन्ध पछि उनीहरु राप्ती तरेर पटिहानीका घर–आंगन, खेत–बारी चाहार्न थाले ।

सुरक्षाकर्मीहरुले पटकपटक ठूलो पहल र प्रयासले निकुञ्जभित्र धपाएर छेकेर ल्याए । कोर एरियामा छाडे । ता कि उनीहरु प्राकृतिक वासस्थानमा भिजून्, बाच्न जानून् र रमाउन् । जंगली जीवनको चक्र पूरा गरेर ती र तिनका सन्तती पुनः र पूर्ण जंगली हुन् ।

तर पुष्पा र अञ्जलीले जंगल रुचाएनन् । मान्छे कै साथ खोजे । र, पटिहानीमा स्थायी अड्डा जमाए ।

गैंडाले नेपाललाई बिश्वमा चिनाएको र गैंडालाई राष्ट्रिय प्रतीक मान्ने मद्यवर्ती समुदायले पुष्पा र अञ्जलीलाई पटक्कै बोझ मानेनन् । बरु गर्व गरे । हेरालु नियुक्त गरे । निगरानी राखे । सुरक्षाकर्मीहरुको निरन्तर सुरक्षा अनुगमन गरिरहे । अनाथ र अवोध ती २ दिदीबहिनीको रमाइलो दैनिकी चलिरहेकै थियो ।

नेपाल सरकारको निर्णयमा गए कि, बन मन्त्रीको लहड् र मजाकमा, वा प्रशासनको जिद्धीमा पुष्पा र अञ्जली एक्कासी फलामे खोरमा थुनिएर अजंगको ट्रकबाट लामो यात्रा गरेर कोशिटप्पु आरक्ष पुगे ।

प्रदेश र स्थानीय सरकार, समुदाय, सुरक्षाकर्मीहरुको भब्य स्वागतका बीच अर्धचेत् थकित् पुष्पा र अञ्जलीले कोशिटप्पुको पबित्र माटोमा पाउकष्ट गरे । ताली खाए । फुलमाला अबिरले पुजिए । पूर्वी नेपाल उत्साहमय भयो । हीराले सिंगारियो । शोषित पीडित गाँस बास कपास नपाएका स्थानीय समुदायले समृद्धिको तारा उदाएको सपना पाले । मुख मिठ्याए ।

भाग्यमानी चितवन

कति भाग्यमानी चितवन । तराईको मुटु । नेपालको बिश्व आकर्षित गर्ने चम्किलो मणी । बिश्व सम्पदामा दर्ज जैविक बिबिधताको खानी र दुर्लभ एकसिङ्गे गैंडाको मूलघर । याने कि बिश्व कै हीरा अथवा स्वर्ग । कालो कालहरुलाई जितेर चम्किरहेको चितवन ।

सन् १९५० को १ हजार गैंडा घटेर १८ बर्ष पछि १९६८ मा दुई अंक नब्बेमा झ-यो र बिज्ञहरुले १९८० मा चितवनबाट गैंडा लोप हुने भविष्यवाणी गरे । त्यहीबेला चितवनको १० हजार जनसंख्या बढेर १ लाख पुग्यो । मुश्किलले २ हजार गाईबस्तु बढेर २० हजार पुग्दा गैंडाको चरण सुक्यो । साँघुरियो । पृथ्वीनारायण शाहले विदेशी आक्रमण छेक्न जोगाएको ४ कोशे झाडी फाँडियो र सबै काठ भारतमा पास गरियो । किमति काठ भारतले बेलायत र रुसलाई सुनको भाउमा बेच्यो । नेपाली अग्राखले भारत र युरोपको रेलमार्ग बन्यो । त्यो भयानक बन बिनासकै समयमा चितवनबाट बाह्रसिंग लोप भयो ।

तर शक्तिशाली र दूरदर्शी राजा महेन्द्रको प्रत्यक्ष शासन तथा गैंडा बचाई छाड्ने दृढ संकल्प गैंडालाई बरदान भयो । भाग्यमानी गैंडाले आफ्नो अंगरक्षक नेपाली सेना पायो । त्यसबेलाको ठूलो १ सयको नोटमा गैंडाको तस्वीर छापियो । नेपालको प्रतीक भन्ने प्रतिष्ठा पायो । र, गैंडाले कडा सुरक्षा घेराको राष्ट्रिय निकुञ्ज पाए । कर्मठ् र प्रतिबद्ध प्रशासक, ब्यवस्थापक, संरक्षणकर्मी पाए । विश्व संरक्षण समुदायको ध्यान, धन, मान–सम्मान पाए । प्राचीन मिडियाको रक्षाकवच पाए ।

चुनौती र संघर्षबाट खारिएको चितवन साँच्चिकै गैंडाको राम्रो दिगो बासस्थान सिद्ध भयो । निकट भविष्यमा चितवन निकुञ्जले गोल्डेन जुब्ली मनाउदै छ । सफल र गौरवका गाथाहरु सुनाउदै छ ।

चितवनवासीले छाती मिटेर भाषण गर्ने छन् –
“हामीले गैंडाले वर्दिया राष्ट्रिय निकुञ्ज भरिदियौं । हामीले गैंडा सुदूरपश्चिम शुक्लाफाँटालाई उपहार दियौं । अब हामी पूर्वी नेपाल गैंडामय बनाउदै छौं । नेपालको प्रतीक । नेपालको गौरवशाली भिमकाय जीव । मूलघर चितवन ।”

आधुनिक चुनौतीको कुरा गर्दा पनि चितवनले द्वन्द्व खेप्नुपर्‍यो । युद्धविराम पछि हराएका हतियार खोलाले बगाए । शान्ति संझौता पछि निकुञ्जमा अशान्ति फैलियो । दिनदहाडै गैंडा माथि गोली दागियो । जिउदो गैंडाको खाग काटेर लैजाने दूर्भाग्य चितवनवासीले देख्नु पर्‍यो । ईतिहासकै सर्वाधिक सिकार र क्षति शान्ति सम्झौताको लगत्तै भईरह्यो । बाहिर शान्ति । निकुञ्जभित्र गैंडालाई धावा बोल्ने युद्ध ।

चितवनवासी एकढिक्का भए । युवाहरु संगठित भएर चोरी सिकार नियन्त्रण समूह बनाए । संरक्षण छातामुनि गोलबद्ध भएर शून्य सिकारको नया रेकर्ड बनाए । र, त्यसलाई धेरै बर्ष निरन्तरता दिईराखे । बिश्वलाई शून्य सिकारको बिगुल फुकेर धेरै बर्ष देखायो चितवनले । त्यसकै प्रसाद हुन् – पुष्पा र अञ्जली ।

सलाम छ – स्वर्गजस्तो गौरवशाली चितवन र प्रकृति तथा संरक्षणप्रेमी चितवनवासीलाई । गैंडाका सक्कली मालिकहरुलाई ।

रमाईलो दशैं टुहुरीहरुलाई

बिना योजना । बिना गृहकार्य । बिना समन्वय र सहकार्य । एक्कासी २ गैंडा कोशीटप्पुमा ।

अमेरिकामा मेरो बेचैनी बढ्यो । भोक निद् हरायो । संरक्षणबिज्ञहरु सबै स्तब्ध हुँदा म झन् खिन्न भएँ । किनभने मलाई बिजुली चम्किदा डर लाग्ने रोग गढेको छ ।

बर्दिया स्थित बबई उपत्यकाबाट ७२ गैंडा समूल मारिएको देख्ने साक्षी हुँ म ।

नेपाल मै संक्रमणकालमा गैंडाको चोरी सिकार अत्यधिक बढ्दा गैंडा घटेर ३७५ मा झरेको देख्ने भुक्तभोगी हुँ म ।

चितवनमा स्थानान्तरण गरेर अर्नाहरु बचाउन सकिएन । न बाह्रसिङ्गे बचाउन सकियो ।

बिना योजना र पर्याप्त गृहकार्य बिनाको यो गैंडा स्थानान्तरणको भबिष्य के ? त्यो मेरो बेचैनीको बिज थियो ।

त्यसैले म दशैमा कोशीटप्पु पुगें । पुष्पा र अञ्जलीसँग भेटघाट गरें । भलाकुसारी गरें । सुम्सुमाएँ । मनोबिज्ञान अध्ययन गरें ।

पुष्पा मलाई १० हात पर फ्याँक्ने, हान्ने र कुल्चेर मार्ने अर्धबयस्क भईसकेकी रहिछन् । मान्छे मार्न १ बर्ष कान्छी अञ्जली नै काफी थिईन् । तर त्यती गुनी, सज्जन भद्र, मायालु गैंडाहरु मैले जीवनमा देखेको थिईन ।

उनीहरु नेपाली सेनाको सुरक्षा पोष्टमा आराम गरिरहेका थिए । म पुगेपछि मलाई चिनेको साथी जस्तै मित्रवत् ब्यवहार गरे । उठेर म छेउ आए । माया खोजे । मैले निडर सुम्सुमाईदिएँ । हेरालुले केराको काईयो ल्याएर मलाई दिए ।

हामी पोष्टबाट बाहिर खुला चौरमा निस्कियौं । हामीलाई पछ्याउदै पुष्पा र अञ्जली बाहिर चौरमा आए । मेरो अभिप्राय पोष्ट छाडून र खुला चौरमा चर्न जाउन् भन्ने थियो । ईशारा बुझेर पछ्याई आउने उनीहरुलाई मैले अष्टमीको दिन केरा भोजन गराएँ । तर मुटुमाथि ढुंगा राखेर ।

सम्तमी अष्टमी कोशीटप्पुमा बिताउन पाउनु अहोभाग्यको कुरा ठानें । त्यसमाथि पुष्पा र अञ्जलीसँग खेल्न रमाउन पाउनु झन् अपूर्व अवसर । नया संरक्षण पाठ सिक्ने दुर्लभ अवसर ।

घाउमा नुन्

बेचैन मनमा पीडा थपिए । तीरले मुटुमा प्रहार गरेको दुखाई महशुस भयो । ती चिन्ता र भयका बिषालु तीर् थिए –

चर्नलाई घाँस थिएन । आरक्षमा करिब २० हजार छाडा भैंसी र गाईबस्तुले अबैध चरिचरण गर्दछन् । बालुवा नै खाउँला जस्तो गरेर मरुभूमि बनाएका छन् । गैंडाले के खाने ? दिनको ५० के जी घाँस कहाँबाट कसरी पाउने ?

गैंडाको घरभित्र घोल आहाल थिएन । घर बाहिर खुला चौर वरिपरि पनि घोल आहाल थिएन । कोशी र टापुहरु छाडा गाई भैंसीले भरिभराउ छन् । गैंडासँग भैंसी तर्सिने, भैसीसँग गैंडा । बगुवा पानी गैंडाको उपयुक्त वासस्थान होइन कि ।

नजिकै गरीव जनताको धानबारी छ । केराबारी छ । तरकारी खेती छ । उता छेउमा गैंडा भोक भोकै छन् । भोलिको द्वन्द्व अवस्यम्भावी छ ।

गैंडाको घर वरिपरि अतिक्रमण छ । अबैध बस्ती छ । अथवा, राजनीतिक आरक्षण पाएको नेताको भोट ब्याङ्क छ । आरक्षको आवस्यकता, औचित्य, महत्व र संरक्षण साझेदारी प्रति स्थानीय समुदाय उदासीन छ । प्राय: नकरात्मक छ ।

ती २ पोथी गैंडा बयस्क हुन लागेको अवस्था छ । पर्याप्त आहार बिहारको जरुरी छ । सु–स्वास्थ्य र जोस जाँगर भरिन जरुरी छ । मस्त भाले गैंडाको खाँचो छ । त्यसको ब्यवस्था खोई ?

फिल्डमा नाङ्गो आँखाले देखेका यी समस्याहरुले हो पीडा बल्झिएको ।

तर यो पीडा, गैंडा लैजाने निर्णयको बिरोध होईन । सुन्दर योजना र पर्याप्त अथवा विस्तृत गृहकार्यको खोजी हो । ता कि दुर्लभ गैंडाले आरक्ष सिंगारियोस् । स्थानीय जनताले गौरव महसुस गरुन् । पर्यापर्यटन बढेर समृद्धिको ढोका खुलोस् । जनता लाभान्वित हुन् ।

बेचैनको घाउमा नुन छर्के जस्तो भएपनि म आशाको दियो बालेर सकरात्मक भविष्यको सपना बोकेर पुष्पा र अञ्जलीसँग बिदा भएँ ।

सुझाव

संरक्षण नीति के हो ? योजना के हो ? प्रष्ट हुनुप-यो । अल्पकालीन, मद्यकालीन र दीर्घकालीन रणनीत प्रष्ट भएपछि तदनुसारको संरक्षण कार्यक्रमको खाका बनाएर कार्यान्वयनमा लैजान मनासिव हुन्छ । त्यहाँ उद्धार केन्द्र बनाएर समस्याग्रस्त गैंडालाई उद्धार गरिराख्ने हो, वा, २ गैंडालाई प्रजनन गराई गैंडाको सानो जनसंख्यालाई दीर्घकालीन बासस्थानको ब्यवस्था गर्ने हो । गैंडा बिज्ञहरुको टास्कफोर्स बनाई निश्कर्षमा पुग्नु बान्छनीय हुनेछ । तत्काल गर्नुपर्ने कामहरु बुँदागतरुपमा सुझाएको छु –

सर्वप्रथम घरपालुवा भैंसी र गाईवस्तुको अबैध चरिचरण शून्यमा झार्ने । २०७१ सालमा चीफ वार्डेन अणनाथ बराल र गुल्मपती अर्जुन थापाको संरक्षण सक्रियतामा यस्ता छाडा भैंसी र गाईवस्तुको आरक्षभित्र घुसपैठ शुन्य बनाईएको थियो । हिजो दुर्लभ अर्नालाई स्वर्ग जस्तो आरक्ष प्राप्त भएको थियो । ७१ सालमा आरक्ष पूर्ण सुरक्षित हुने तर आज ८०-८१ सालमा नहुने भन्ने कुरै आउदैन । यसको लागि थप बजेट र नया म्याण्डेट चाहिदैन । चीफ वार्डेनको संकल्प भए पुग्दछ । सुरक्षाको जिम्मा लिएको नेपाली सेनाले “गर नत्र मर” नारा लिएर अहोरात्र खट्टिनुपर्दछ । आरक्ष हराभरा हुने छ । १ दर्जन गैंडालाई पर्याप्त घाँस र चरण पुग्ने छ । अर्ना र गैंडाको अनुपम सहअस्तितवले कोशीटापुमा पर्यटनको नया ढोका खुल्नेछ ।

दोश्रो काम, पूर्व वनमन्त्री महेश आचार्यले क्याबिनेटमा राख्नुभएको आरक्ष बिस्तारको प्रश्ताव पास गर्न नीति निर्माता, प्रशासन, कर्मचारी, प्राविधिक, प्रदेश र स्थानीय तह कटिबद्ध भै लाग्नुपर्दछ । पूर्वी नेपालको १ मात्र आरक्ष बिस्तारपछि त्यहाँ पाटेबाघ समेत स्थानान्तरण गर्न सकिने छ । गैंडाको संख्या बढाउन विस्तारित आरक्ष वरदान हुनेछ । पाटेवाघ समेत स्थानान्तरण गर्न आरक्षको सामथ्र्य हुनेछ । आरक्षलाई निकुञ्जमा स्तरोन्नति गरेर त्यसलाई पुर्वको अमूल्य मोती बनाउन सकिनेछ ।

कोशीटप्पु प्रायः तनावग्रस्त र बिपदग्रस्त आरक्ष हो । त्यहाँ गुल्मको सुरक्षा पर्याप्त हुँदैन । गण माग भएको धेरै भयो । नागार्जुनको गणलाई उक्त आरक्षमा तैनाथ गरि सुरक्षा स्थिति सुदृढ गर्न बिलम्ब भईसकेको छ । र, गैंडाले त्यहाँ उच्च सुरक्षा अनुगमन र, नियन्त्रणको माग गरिहेका छन् । २ गैडालाई त्यहाँ तैनाथ गुल्मले २४ घण्टा साथै रहने गरी २-२ जना स्मार्ट अंगरक्षक तत्काल खटाउन जरुरी छ ।

क्विक् स्याण्ड् (बालुवा भास्) आरक्षको खतरनाक समस्या हो । हात्तीले सुँड्ले छामेर त्यो खतरा पहिचान गर्ने सामथ्र्य राख्दछ । तथापि १ हात्ताीको भास्सिएर ज्यान गएको नजीर छ । गस्तीमा रहेको १ सिपाहीको भास्सिएर ज्यान गयो । गैंडा सोझो लाटो जनावर हो । भास्बाट ज्यान जोगाउने अक्कल गैंडालाई नहुन सक्दछ । त्यसको रक्षा विकल्प बिज्ञहरुले दिनुपर्दछ ।

घाँस, चरण, आहार–बिहारको भरपर्दो व्यवस्था नभएसम्म भाले गैंडा स्थानान्तरण गर्नुको अर्थ छैन ।

ईलेक्ट्रिक फेन्स् अझ बिस्तार गरेर मजबुत बनाइनु पर्दछ ।

गैंडालाई हेर्न, खुवाउन, खेल्न आउने जनसागरलाई बन्द गर्नुपर्दछ । गैंडा खेलौना होईन भनेर त्यसलाई विस्तारै ठूलो ईन्क्लोजर र प्राकृति वासस्थान आहार बिहारमा पठाउन मिहेनत गर्नु पर्दछ ।

अन्त्यमा, संरक्षण हचुवामा हुँदैन । नीति, योजना र कार्यक्रमले अघि बढाएको संरक्षण मात्र दिगो हुन्छ । कोशीटप्पुको काँधमा ठूलो जिम्मेवारी र भाग्य आईलागेको छ । जाने आरक्षलाई हीरा मोती बनाउने अवसर प्राप्त भएको छ । केन्द्रले नीति, कार्यक्रम, संरक्षण प्राथमिकता तोकेर बजेट खन्याउन जरुरी छ । कोशीलाई गैंडामय बनाएर किन नदेखाउने ? गैंडा मारेर अपराध गर्नु र पशुश्रापले पिल्सिनु भन्दा गैंडालाई स्वस्थ खुशी सुखी बनाएर पशु आशिष किन नलिने ?

पुष्पा र अञ्जलीलाई सुस्वास्थ्य सुख र खुशीको लागि हार्दिक शुभकामना ।