भेरीगङ्गा । रुकुम–पश्चिमकाे आठबिसकोटकी हीरा विक माइतीमा नगएको धेरै भएको थियो । दाइहरू भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उनी माइतीमा जान पाएकी थिइनन् ।
यही १७ कात्तिकमा उनी घरको कामबाट फुर्सद मिलाएर भेटघाटका लागि माइतीमा गइन् । धेरैपछि आएकी बहिनीलाई माइतीमा मिठोमसिनो खुवाउनुपर्छ भनेर उनको दाइले मासु किनेर ल्याए । अनि सबैजना खाना खाएर सुख दुःखका कुराकानी गर्दै थिए । हीराको दाइले रात धेरै गइसक्यो बहिनी अब सुत्नुपर्छ भनेपछि सबैजना आफ्नो आफ्नो कोठामा गए ।
उनीहरू सबैजना सुत्नेबेला घडीमा रातको साढे ११ बजेको थियो । ‘म माइतीमा पाहुना आएको थिएँ’, हीराले भनिन्, ‘धेरैपछि माइतीमा आउँदाको खुसी धेरै थियो । सबैजना सुखदुःखका कुरा गरेर बसिरहेका थियौँ । दाइले अब धेरै रात बित्यो सुत्नुपर्छ भनेपछि हामी सबै सुत्न आफ्नो आफ्नो कोठामा गयौँ । कोठामा भर्खर सुतेका थियौँ, घर हल्लिन थाल्यो एकैछिमा सबै घर तल खस्यो ।’
भाग्यले ज्यान जोगिएकी हीराले बाहिर चिच्यावट आवाज आएपछि मात्रै घर भत्किएको थाहा भएको बताइन् । ‘हामी सबै घरभित्र पुरियौँ’, उनले भनिन्, ‘गाउँका बाँचेका दाइभाइ आएर आधा घण्टापछि हामीलाई निकाल्नुभयो ।’ उनले अगाडि भनिन्, ‘सबै बेहोस अवस्थामा थिए, कोही बाँच्नुभयो भने कोही सधैँको लागि छोडेर गए ।’
दाइभाइ र भदाभदैसँग भेट्न आएकी हीराले सबैसँग भेट्न पाइन् । तर दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ । ‘कानले सबै कुरा सुनेको थिएँ । भदैनीले फूपु बचाउनुहोस् बचाउनुहोस् भनेको याद ताजै छ, अलि छिटो निकालेको भए सकभर भदैनी बाँच्थिन होला ।’
हीराले भक्कानिदै भनिन्, ‘भदैनी छोडेर गइसकी । अरु दाइहरू घाइते हुनुहुन्छ, न त घर रह्यो न त भदैनी ।’
माइतीमा मात्रै होइन, आफ्नो घरमासमेत त्यस्तै पीडा रहेको उनी बताउँछिन् । उनको घरसमेत पूर्णरुपमा क्षति भएको छ । मानवीय क्षति भने हुन पाएन । तथापि घर भने केही बाँकी छैन् । ‘हामीले भोग्नसम्म पीडा भोगिरहेका छौँ । माइतीमा यति ठूलो समस्या भयो, घर केही रहेनन् । आफ्नो घर पनि सबै गइसक्यो । सबैतिर समस्या नै समस्या छ ।’
सरकारले अहिले राहत त दिइरहेको छ । तर पुनःस्थापनाको काम छिटो गरिदिन उहाँको सरकारसँग माग छ । अहिले जाजरकोट र रुकुम पश्चिममा अधिकांश गाउँमा यस्तै पीडामा मानिस रहेका छन् । यो पीडामा मल्हम लगाउनको लागि सरकार र विभिन्न निकायबाट राहत सहयोग त गइरहेको छ । तर राहत वितरणमा ढिलाइ भइरहेको गुनासो पनि छ ।
मनोविदहरूले भूकम्पबाट प्रभावित भएकालाई मनोसामाजिक समस्या देखिनसक्ने जनाउँदै सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । विशेषगरी भूकम्पको त्रासमा रहेको महिला बालबालिकालाई मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यतातर्फ ध्यान दिन मनोविद्हरूको सुझाव छ ।
प्रतिक्रिया