काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छन् ।
घिसिङले बिहीबार गत आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका हुन् ।
मन्त्रिपरिषद्को २०७८ साउन २५ निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो ।
ऊर्जा मन्त्रालयबाट आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा गरेको कार्यकारी निर्देशक घिसिङको कार्यसम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
कार्यसम्पादन सम्झौताको मूल्यांकनमा प्राप्तांकका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।
घिसिङलाई पदबाट किन नहटाउने भनेर ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालयले स्पष्टीकरण सोधेपछि उनले कार्यसम्पादनको विवरण बुझाएका हुन् ।
घिसिङले स्पष्टीकरण पेश गर्न एक साताको समयावधि पाएकोमा त्यसको तीन दिनअघि कार्यसम्पादनको विवरण मन्त्रालयलाई दिएका हुन् ।
प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रूपैयाँ नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण २०७३/७४ मा १ अर्ब ५० करोड रूपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो ।
त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रूपैयाँ सञ्चित नाफामा पुगेको छ ।
प्राधिकरणले गत आर्थिक वर्षमा प्रणालीको विद्युत चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो । ८ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । आर्थिक वर्ष २०७९/८०मा विद्युत चुहावट १३.४६ प्रतिशत थियो ।
प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।
देश लोडसेडिङमुक्त भएर नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्ताहरूलाई विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् प्रविधि मार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख छ ।
प्रतिक्रिया