महाकवी देवकोटाको ११५औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाईंदै

महाकवी देवकोटाको ११५औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाईंदै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

देवकोटाले विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसार गर्न समेत महत्वपूर्ण योगदान दिएका थिए ।

नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।