दूधको मूल्य घट्दा किसान निराश

दूधको मूल्य घट्दा किसान निराश



नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म गैह्रसरकारी संस्थामा जागिरे थिए ।

जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि जागिर छाडेर गंगा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिक रूपमा गाई पाल्न थाले । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उनको गोठमा ४५ गाई छन् । गाईपालन थालेको १० वर्षमा दूध बिक्रीमा खासै समस्या आएको थिएन तर, यसवर्ष भने बिक्री हुन छाडेको छ । “गत वर्षको दशैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दशैँ–तिहारमा भने दूध बिक्री भएन,” उनले भने ।

भद्रकाली दूध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत रहेका उनले नेपालमा बाहिरबाट दूध आएकाले यहाँको दूध बिक्रीमा समस्या भएपछि गाई घटाउँदै लगेको गुनासो गरे । दैनिक ३०० लिटर दूध उत्पादन हुँदै आएको उनको फार्ममा हाल गाई घटेसँगै उत्पादन पनि घटेको छ ।

“भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन । डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन त्यही भएर गाई बेच्नु परेको हो,” उनले भने । केही समयअघि मात्रै ७९ प्रतिलिटरमा बिक्री भएको दूध हाल ७० रुपैयाँमा दिनुपरेको उनको गुनासो छ ।

“व्यापारीले दूध नलाने र सधैँ मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैराश्य भएर छाड्नुपर्ने स्थिति भयो, थापाले भने, “विगतका वर्षमा यस्तो समस्या थिएन । किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानुपर्दैन ।”

दूध बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च चलाएका यहाँका किसान दूध बिक्री नहुँदा अलमलमा छन् । दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको किसानले बताएका छन् ।