दुर्गा प्रसाईंको ‘जनविद्रोह’ मा एमाले कार्यकर्ता हाबी

दुर्गा प्रसाईंको ‘जनविद्रोह’ मा एमाले कार्यकर्ता हाबी



मंसिर ७ गते के होला भन्ने उत्सुकता थियो, त्यो आम सर्वसाधारणले देखे । राजनीतिक दलका कार्यकर्ताले जसरी हल्का ढंगले लिएका थिए, दुर्गा प्रसाईं त्यो होइन भन्ने प्रमाणित गरिदिए । यता, नेकपा एमालेको भ्रातृ संस्था युवा संघले पनि आजै शक्ति प्रदर्शन गरेको थियो, त्यो पनि सर्वसाधारणले नियाले । एमालेभन्दा दुर्गा प्रसाईं तुलनात्मक रुपमा सबै हिसाबले शक्तिशाली देखिए ।

युवा संघले आयोजना गरेको शक्ति प्रदर्शन एजेन्डाविहीन थियो । देशको समसामयिक एजेन्डा बोकेर दुर्गा प्रसाईंकै शब्दमा ‘जनविद्रोह’ शंखघोष गर्न उत्रेका थिए । एकजना व्यक्तिविरुद्ध एमालेको सिंगो पार्टीका युवापंक्ति उभिएका थियो । शक्ति प्रदर्शनमा उनीहरुले जनताको माग होइन, दुर्गा प्रसाईंविरुद्ध विष विमन गरेका थिए । अरु राजनीतिक दललाई पनि दुर्गा प्रसाईविरुद्ध उत्रिन आह्वान गरिरहेका थिए ।

राजनीतिक दल यदि सुध्रिएनन भने गणतन्त्रको भविष्य संकटमा पर्ने दिन धेरै टाढा छैन । जनताको एजेन्डा दबाउन गणतन्त्रवादी उद्दत देखिए जनविद्रोह निर्मम बन्ने पक्का छ । कानुन लत्याउन र बन्दुकको सामना गर्ने शक्ति एक ठाउँमा उभियो भने त्यो भीड शितल निवास र बालुवाटार मोडिने छ ।

नेपाली राजनीतिबाट निराश नागरिकको मनमष्किमा बिझेका कुरा दुर्गा प्रसाईंले एजेन्डाका रुपमा उठान गरेका छन् । संघीयता, युवा जनशक्ति पलायन, भ्रष्टाचार, तस्करी, नातावाद र कृपावादले परकाष्ट नाघेको छ । जनताको जीवनस्तर कहिले नसुध्रिने, संघीयताका नाममा दलका कार्यकर्ताले ताण्डप देखाउने, अध्ययन र रोजगारीको नाममा ठूलो संख्यामा युवा जनशक्ति दैनिक विदेशिनुपर्ने, भ्रष्टाचार बिना कुनै विकास निर्माण अघि नबढ्ने, सुन र सुपारीलगायतको तस्करीले सीमा नाघ्ने, शासन सत्तामा परिवारवाद हाबी हुने र जनताको कामका लागि जहिले जीहजुरी गर्नुपर्ने वातावरणबाट नागरिक निराश छन् ।

कसले र कसरी यस्तो वातावरण बन्यो भन्ने विषयवस्तुको खोजी गर्न दलहरु गम्भीर छैनन् । चिहानबाट राजसंस्था उठेर आउन सक्दैन, राज्यसत्तामा धावा बोल्ने हिम्मत कसैसँग छैन भन्ने कुरामा राजनीतिक दलहरु ढुक्कजस्तै छन् ।

यसरी ढुक्कजस्तै देखिएका राजनीतिक दलहरुलाई मंसिर ७ गतेको दुर्गा प्रसाईंको शक्ति प्रदर्शनले झस्काएको हुनुपर्छ । गणतन्त्रवादीहरु दुर्गा प्रसाईको यो जनविद्रोहपछि बैंकको ऋण तिर्न नसकेर दुर्गा प्रसाईले यो नाटक गरेको हो भनेर पन्छिन मिल्दैन । आन्दोलनमा सहभागीलाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले भनेका छन्–‘आजैबाट जनविद्रोह सुरु भएको छ । संघीयता भन्नेलाई लात्तीले हान्छु ।’

गणतन्त्रलाई संस्थागत गर्ने हो भने राजनीति दल र त्यसका नेता सुध्रिनुको विकल्प छैन । जनताका एजेन्डा बोकेर ‘जनविद्रोह’ शंखघोष गरेर मैदान छिरेका दुर्गा प्रसाईं र उनका एजेन्डालाई दबाउन खोजियो भने अर्को ठूलो गल्ती हुनेछ । सबै दलका नेताले भोगेकै हुन विद्रोहले कानुन चिन्दैन, बन्दुकको गोलीको प्रवाह गर्दैन । अब दुर्गा प्रसाईं व्यक्ति होइन, कुनै शक्तिको प्रतिनिधिपात्र हुन भनेर बुझ्न जरुरी छ ।

दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ मा भएको ‘जनविद्रोह’ मा प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेले मलजल नगरिदिएको भए यति ठूलो जनसागर उपस्थित नहुन सक्थ्यो । एमालेलाई सिध्याउनकै लागि राजनीतिक दलका कार्यकर्ता दुर्गा प्रसाईको जनविद्रोहमा सहभागी हुन पुगे । राजनीतिक दलको चरित्रसमेत नदेखाइ युवा संघले कोटेश्वर क्षेत्रमा देखाएको शक्ति प्रदर्शन राजनीतिमा निराश नागरिकको विद्रोहमा थप मलजल गर्ने खालको थियो । दुर्गा प्रसाईंको यो शक्तिलाई नजरअन्दाज गरेर राज्यले एमालेले जस्तै गल्ती गर्नु हुँदैन । जनताका एजेन्डा सम्बोधन गरेर ‘जनविद्रोह’ समेट्नुपर्छ ।

राजनीतिक दल यदि सुध्रिएनन भने गणतन्त्रको भविष्य संकटमा पर्ने दिन धेरै टाढा छैन । जनताको एजेन्डा दबाउन गणतन्त्रवादी उद्दत देखिए जनविद्रोह निर्मम बन्ने पक्का छ । कानुन लत्याउन र बन्दुकको सामना गर्न शक्ति एक ठाउँमा उभियो भने त्यो भीड शितल निवास र बालुवाटार मोडिने छ । गणतन्त्रवादीले नबिर्सउन श्रीलंका यसको ताजा उदाहरण हो ।