सोल, टोक्यो र बेइजिङले त्रिपक्षीय शिखर सम्मेलनको तयारीलाई तीव्रता दिने

सोल, टोक्यो र बेइजिङले त्रिपक्षीय शिखर सम्मेलनको तयारीलाई तीव्रता दिने



सोल । दक्षिण कोरिया, जापान र चीनका शीर्ष कूटनीतिज्ञहरूले आइतबार ‘सम्भव भएसम्म चाँडै’ त्रिपक्षीय शिखर सम्मेलनको आयोजना गर्ने आवश्यकताको पुष्टि गर्नुभएको चार वर्षभन्दा अधिक समयमा आफ्नो त्रिपक्षीय विदेशमन्त्रीस्तरीय बैठकपछि दक्षिण कोरियाका विदेशमन्त्रीले बताएका छन् ।

बेइजिङले वासिङ्टनसँग टोक्यो र सोलको गहिरो सुरक्षा सम्बन्धमा बढ्दो चासो देखाएको बेला पार्क जिन, योको कामिकावा र वाङ यीबीच दक्षिणी बन्दरगाह सहर बुसानमा विदेशमन्त्रीस्तरीय बैठक बसेको हो ।

उत्तर कोरियाले उसको पहिलो सैन्य जासुसी उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको केही दिनपछि यस्तो बैठक बसेको हो । उत्तर कोरियाको उक्त कदमपछि दुवै कोरियाबीच पाँच वर्ष पुरानो सैन्य सम्झौता निलम्बन भएको छ । उक्त सम्झौताको उद्देश्य कोरिया प्रायद्वीपमा तनाव कम गर्नु रहेको थियो ।

दक्षिण कोरिया, जापान र चीनका नेताहरूबीचको शिखर सम्मेलनको आयोजना विदेशमन्त्रीहरूको बैठकको एजेन्डाको सूचीमा शीर्ष स्थानमा थियो । “तीनै जना विदेशमन्त्रीले त्रिपक्षीय सहयोग प्रणालीको शिखर सम्मेलनलाई यथाशीघ्र, पारस्परिकरूपमा सुविधाजनक समयमा आयोजा गर्ने पुष्टि गर्नुभएको छ”, बैठकपछि दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनले पत्रकारहरूसँग भने ।

उनले शिखर सम्मेलनका लागि कुनै विशेष समयसीमा उल्लेख नगरी भने, “हामी आवश्यक तयारीका लागि तीव्रता दिन सहमत भएका छौँ ।” दक्षिण कोरिया र उसको पूर्वऔपनिवेशिक शासक जापानबीच कूटनीतिक तथा ऐतिहासिक विवादहरूका कारण सन् २०१९ पछि कुनै पनि नेताहरूको शिखर सम्मेलन आयोजना भएको छैन । कोरिया प्रायद्वीपमा सन् १९१० देखि सन् १९४५ सम्म जापानको शासनलाई लिएर दुवै मुलुकबीच कानूनी विवाद चलिरहेको छ ।

बिहीबार दक्षिण कोरियाली अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै जापानलाई दोस्रो विश्वयुद्धका क्रममा जबरजस्ती यौन दासत्वका लागि १६ महिलालाई क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

त्रिपक्षीय वार्ता हुनुअघि दक्षिण कोरियाली समकक्षीसँगको द्विपक्षीय बैठकमा जापानका विदेशमन्त्री कामिकावाले फैसलालाई ‘अत्यन्त खेदजनक’ भन्दै सोलसँग ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’ लाई सच्याउन कदम चाल्न अनुरोध गरेका थिए ।